२०८१ बैशाख २२ , शनिवार

कांग्रेस महासमिति बैठक : पाँच प्रतिवेदनमाथि छलफल, एकजनालाई पाँच मिनेट समय

nc

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको महासमिति बैठकमा मङ्गलबार पेस भएका पाँच प्रस्तावमाथि छलफल जारी रहेको छ । बैठकमा मङ्गलबार पार्टीका उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको पाँच प्रतिवेदनमाथि छलफल जारी रहेको हो । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार समूह बनाएर छलफल सुरु गरिएको हो ।

बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, पार्टीका प्रवक्ता डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेको लेखापरीक्षण प्रतिवेदन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको हो ।

वक्ताहरुलाई आफ्नो सुझाव र धारणा राख्न पाँच मिनेटको समय तोकिएको छ । वक्ताहरुले समयको परिधिभित्र रहेर आफ्नो धारणा राखिरहेका छन् । सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फुलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशङ्खुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको पार्टीका प्रचारप्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकमा धारणा राख्ने वक्ताहरुले पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त बनाउन महासमिति सदस्यहरुलाई जिल्ला कार्यसमितिको पदेन सदस्य बनाइनुपर्ने, निर्वाचन अगाडि गठबन्धन गर्न नहुने, अहिलेको गठबन्धनलाई निरन्तर राख्नुपर्ने, पार्टी र जनप्रतिनिधीबीच समन्वय हुनुपर्ने, महिलालाई पार्टीभित्र पदाधिकारीलगायतका पदमा ३३ प्रतिशत अधिकार दिनुपर्नेलगायत धारणा राखेका छन् ।  रासस