२०८१ बैशाख २४ , सोमवार

कांग्रेस महासमिति बैठकः एक्लै चुनाव लड्ने संकल्पमा सहमति, आजदेखि प्रतिवेदनमाथि छलफल सुरू

NC

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले महासमिति बैठकमा भविष्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने भएको छ । यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको छ ।

सहमित सँगै आजदेखि प्रतिवेदनमाथि छलफल सुरू हुने हुँदै छ ।

कांग्रेस महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ । भोलि बिहान ९ बजे सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक र प्रवक्ता डा। प्रकाशशरण महतको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । तर साँझसम्म प्रतिवेदन टुंगिएको थिएन ।

 

महामन्त्री थापाले सांगठनिक प्रतिवेदनमा रहेको भविष्यमा हुने चुनावमा निर्वाचन पूर्व गठबन्धन नगर्ने संकल्प गर्ने प्रस्तावमा संस्थापन पक्षले आपत्ति जनाएको थियो । लगातार छलफल गर्दा पनि सहमति नजुटेपछि सभापति देउवाले उद्घाटनका क्रममा गठबन्धनबारे अहिले निर्णय नगर्ने मत राखेका थिए ।

लगत्तै भएको छलफलमा महामन्त्री थापा आफ्नो प्रस्तावबाट पछाडि हट्न तयार भएनन् । एकातिर सभापतिले स्वीकार नगरेको प्रतिवेदन कसरी पार्टीको हुने प्रश्न थियो भने अर्कोतिर महामन्त्रीले स्वीकार नगरेको प्रतिवेदन उनले नै कसरी लैजाने प्रस्ताव थियो । देउवा निवास बूढानीलकण्ठमा शीर्ष नेताहरूबीच भएको छलफलमा सभापति र महामन्त्रीको दुवै प्रस्ताव लैजाने सहमति भयो ।

 

 

अब महामन्त्रीको प्रतिवेदनमा यसभन्दा अगाडिको निर्वाचनको गठबन्धन बाध्यताको उपज थियो भनिनेछ । ‘नेपाली कांग्रेस दृढ संकल्प गर्छ, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्नेछौं । र, हाम्रा मतदातालाई हाम्रो चुनाव चिह्न रूखमा मात्र मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं’ प्रतिवेदनमा उल्लेख हुनेछ ।

सहमहामन्त्री उपाध्यायले पनि सबै विषयमा सहमति जुटेको सञ्चारकर्मीहरुलाई जानकारी दिइन् ।