२०८१ बैशाख १६ , आइतवार

काठमाडौं महानगरपालिकाले शुरु गर्यो फोहोरवाट कम्पोस्ट मल बनाउन

compost-mall

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरेको छ ।
फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरिएको महानगरले बताएको छ ।

महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ सुरू गरिएको हो ।

 

 

घरेलु फोहोर दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी महानगरले २७ नम्बर वडाबाट सुरू गरिएको थियो । ५ हजार जनसंख्या रहेको २७ नम्बर वडमा १ हजार ४ सय घरधुरी छन् । जहाँबाट निस्कने कुहिने फोहोरको मात्रा दैनिक औसत ५ सय केजी छ ।

 

 

महानगरका अनुसार २७ नम्बर वडामा फोहोर वर्गीकरण गरेर २१ माघदेखि टेकु ल्याउन थालिएको थियो । त्यसपछि संकलन भएको फोहोरलाई पाइल गरिएको हो । अहिलेसम्म ४ पाइल तयार भइसकेका छन् । संकलित फोहोरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।

 

वडा नम्बर २७ ले फोहोर वर्गीकरण र ढुवानीका लागि निरन्तर निगरानी गरिरहेको छ । उत्पादकलाई वर्गीकरणका लागि प्रोत्साहन गर्ने, सचेतना वढाउने र सहभागी गराउने कामलाई निरन्तर सञ्चालन गरिरहेको छ ।