२०८१ बैशाख १५ , शनिवार

विश्वकप क्रिकेट लिग : नेदरल्यान्ड्सको शानदार जित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्र्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नामिबियाले प्रस्तुत गरेको एक सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलव दुई ओरभमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । यस जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो ।

समान दुई खेल नै खेलेको नामिबियाको पनि समान दुई अङ्क नै छ । पहिलो खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो ।नेदरल्यान्ड्सको जितमा माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ८१ बल खेल्दै आठ चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी म्याक्स ओडोउडले २८ रन बनाउदा बास डी लिडेले अविजित २१ रन बनाए ।

नामिबियाका लागि कप्तान जेर्रार्ड एरास्मसले तीन विकेट लिए ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको थियो । नामिबियाका लागि जेजे स्मिथले २६, जान ग्रिनले १९, रुबेन ट्रम्पलम्यानले २०, निकोलस डाभिन र कप्तान जेर्रार्ड एरास्मसले समान १३/१३ तथा वेर्नार्ड स्कोल्ट्जले १२ रन बनाए ।

नामिबियालाई सस्तैमा समेट्नेक्रममा नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले छ विकेट लिए भने कायल केलिनले दुई विकेट झारे । त्यस्तै रोलेफ भान डेर मार्वे र म्याक्स ओडोउडले समान एक÷एक विकेट झारे ।  रासस