२०८१ बैशाख २१ , शुक्रवार

त्रिवि पत्रकारिता विभागको अत्याधुनिक नयाँ भवन

yy

सुनाखरी न्युज/ कीर्तिपुर।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको बुधबार समुद्घाटन गरिएको छ ।

त्रिविका उपकुलपति प्राध्यापक डा. शिवलाल भुषालले बल्खुमा विभागले आयोजना गरेको एक औपचारिक कार्यक्रममा सो भवनको उद्घाटन गर्नुभयो ।

 

 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपकुलपति भुषालले पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा विशिष्ट किसिमको भवन प्राप्त भएको बताउनुभयो । उहाँले भवन निर्माणको क्रममा विभिन्न सङ्घर्ष भएको तर यस क्षेत्रमा छुट्टै किसिमको विकास भइरहेको भन्नुहुँदै बधाइ एवम् शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै, विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले देशमा २०३३ सालदेखि पत्रकारिता शिक्षा सुरुवात भएको र यही विषय पढ्न तथा पढाउने क्रममा यसको आवश्यकता महसुस भएको बताउनुभयो ।

खनालले भन्नुभयो, “२०३३ सालदेखि पत्रकारिता शिक्षा पढाइ सुरु भएको हो । त्यसपछि पत्रकारिता पढ्ने र पढाउन आइसकेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कसरी राम्रो बनाउन सकिन्छ भनेर प्रयास गरियो । आरआर क्याम्पसमा जुन विषय पढाइ हुन्थ्यो, पत्रकारिता फरक तरिकाले विकास हुने क्षेत्र भएकाले त्यो साँघुरो हुँदै गयो ।”

उहाँले सुरुमा जग्गा प्राप्ति तथा बजेट निकासामा निकै सङ्घर्ष गर्नुपरेको स्मरण गर्दै सबैको सहयोगमा भवन निर्माण कार्य सम्पन्न भएको बताउनुभयो ।

 

२०७६ माघ १ गतेको सम्झौतापछि भवन निर्माणको काम सुरु भएको थियो ।

भवनको पहिलो तलामा १० देखि १५ वटा गाडी पार्किङ गर्न मिल्ने तथा ६०–७० वटा मोटरसाइकल राख्न सकिने छ । यस्तै, पुस्तकालय, ई–पुस्तकालय, मल्टिमिडिया तथा बैठक कक्ष रहेका छन् ।

दोस्रो तलामा वर्कशपका लागि ब्लक तथा कोठाहरु छन् । तेस्रो तलामा फोटोग्राफी, रेडियो स्टेसन, विभिन्न ब्लक तथा ठूलो हल छ । चौथो तलामा फिल्म स्टडी, उत्पादन, करिब दुई सय जनाभन्दा बढी अट्ने सेमिनार हल, टेलिभिजन स्टुडियो रहने गरी डिजाइन भएको छ ।

पत्रकारिता देश तथा विदेशमा समेत जोडिने तथा अध्ययनको विषय भएकाले विदेशबाट आउनुहुने पाहुनाका लागि बेडरुम, किचेन, डाइनिङ रुम लगायत छन् भने सबैभन्दा माथि खुला क्षेत्र रहेको छ ।