२०८१ जेठ ३ , बिहिवार

संस्कृति पुस्तान्तरण गर्न सांस्कृतिक महोत्सव

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
आदिवासी याक्थुङ/लिम्बू समुदायको सांस्कृतिकसहित विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गराउने उद्देश्यले इलाम सदरमुकाममा आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव हुने भएको छ ।किरात याक्थुङ चुम्लुङको आयोजनामा यही फागुन २४ र २५ गते हुने महोत्सवका लागि चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी तयारी सुरु गरिएको छ ।

वर्तमान युवापुस्ता आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा संस्कृति प्रवर्द्धनका निम्ति महोत्सव गर्न लागिएको मूल आयोजक समितिकी संयोजक सोङ्मीले बताउनुभयो । “भाषा, संस्कृति र साहित्यले सम्पन्न आदिवासी याक्थुङ/लिम्बु समुदायको परम्परागत र मौलिक संस्कृतिको संरक्षण गर्दै युवा पुस्तामा पुस्तान्तरण गर्न महोत्सव आयोजना गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “महोत्सवमा आदिवासी याक्थुङ/लिम्बू समुदायको संस्कृति झल्कने प्रस्तुतिहरु रहेनछन् ।”

महोत्सवमा सांस्कृतिक झाँकीसहित याक्थुङ/लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धाननाच (याःलाङ), पालाम, हाक्पारेलगायत प्रस्तुतिसहित सांस्कृतिक पोसाकको प्रदर्शनी पनि रहने संयोजक सोङ्मीले जानकारी दिनुभयो । उहाँका अनुसार इलाम बजारमा हुने महोत्सवमा याक्थुङ÷लिम्बू जातिको बाहुल्य रहेको अरुण पूर्वका नौ जिल्ला, उपत्यकाका तीन र चितवन गरी १३ जिल्लाका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ ।

महोत्सवमा दुई सय च्याब्रुङको प्रदर्शनी रहने महोत्सव प्रचारप्रसार उपसमितिका सहसंयोजक अतित योङहाङले बताउनुभयो । च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकारहरु बताउँछन् । च्याब्रङ नाच विभिन्न जनावर र पशुपन्छीको अभिनय गर्दै नाच्ने गरिन्छ । यो नाचमा परिवेश अनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ ।

याक्थुङ/लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाचलाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाहरुले प्रयास गर्दै आएका छन् । यसको संरक्षण र प्रवर्द्धनका लागि राज्यले लगानी गरी तदारुकता देखाउनुपर्ने उनीहरुको माग छ ।

पश्चिमा संस्कृतिले आदिवासी जनजातिका मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना हुँदै गएपछि लिम्बू समुदायका युवायुवातीहरु संस्कृति संरक्षणमा जागरुक बन्न थालेको लिम्बू किरात याक्थुङ चुम्लुङका सङ्घीय सचिव चक्र येक्तेन अभिषेकले बताउनुभयो । राज्यले लगानी नगर्दा समुदाय स्तरको प्रयासले मात्र ठोस उपलब्धि हासिल गर्न नसकिएको उहाँको भनाइ थियो ।  रासस