२०८१ बैशाख २२ , शनिवार

कृषि प्राविधिक शिक्षालयका विद्यार्थी ‘पढ्दै, सिक्दै, कमाउँदै’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थी अहिले च्याउखेतीमा व्यस्त छन् ।कहिले तरकारी र फलफूलबारीमा मल बीउ राख्दै, कहिले आलुको बीउ ग्रेडिङ गर्दै, कहिले च्याउखेतीको तालिममा व्यस्त रहने यहाँका विद्यार्थीले पढाइसँगै सिकाइ र कमाइ पनि गरिरहेका छन् ।

कृषि प्राविधिक शिक्षालयका कृषि र पशु विज्ञानमा अध्ययनरत विद्यार्थी पढाइसँगै आफूले उत्पादन गरेका कृषिउपज, फलफूल र तरकारी बिक्री गरेर आम्दानी गर्न थालेपछि घरबाट पैसा मगाएर पढ्नुपर्ने बाध्यता हटेको बताउँछन् ।विद्यार्थीले पढ्दै, सिक्दै र कमाउँदै गर्न थालेपछि प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । साथै स्थानीयलाई सुविधा र विद्यार्थीलाई आम्दानी दुवै प्राप्त भएको छ ।

विसं २०६८ मा जिल्लामा पहिलोपटक सञ्चालन भएको किसानी कृषि प्राविधिक शिक्षालयले १२ वर्षको अवधिमा पाँच सय बढी कृषि प्राविधिक उत्पादन गर्नुका साथै शिक्षालयको भौतिक पूर्वाधारमा उल्लेख्य सफलता प्राप्त गरेको छ ।शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन् । कृषि अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधार थप गरिएको शिक्षालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले पढाइको साथसाथै विभिन्न प्रकारका तरकारी उत्पादन गर्दै आएका छन् ।

कृषि बालीविज्ञानअन्तर्गत जेटिएदेखि आइएससी (एजी) मा अध्ययनरत विद्यार्थीले विभिन्न प्रकारका तरकारी उत्पादन, बेर्ना उत्पादन, च्याउखेती गर्दै बजारमा बिक्रीवितरण गरी आम्दानी गरिरहेका प्रधानाध्यापक गर्बुजाले बताउनुभयो । विद्यार्थीले नयाँ प्रविधि तथा आधुनिक औजारको प्रयोग गरी उत्पादन गर्दै आएका उहाँको धनाइ थियो ।नयाँ प्रविधि तथा आधुनिक औजारको प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै विद्यालय र विद्यार्थीलाई आर्थिकरुपमा सबल बनाउँदै जाने योजना रहेको प्रअ गर्बुजाले जानकारी दिनुभयो ।

बालीविज्ञान अध्ययनरत विद्यार्थी सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक सीपको विकास गरी उच्चस्तरको जनशक्ति निर्माण गर्नुका साथै विद्यार्थीलाई पढ्दै कमाउँदै गर्नका लागि विभिन्न रचनात्मक योजनाहरु निर्माण तथा कार्यान्वयन गरिरहेका उहाँको भनाइ थियो ।पढाई सकेपछि आफैँ कृषिका ठूलाठूला व्यवसाय तथा फर्म स्थापना गरेर सञ्चालन गर्नसक्ने आँट आएको विद्यार्थी रमेश पुनले बताउनुभयो ।

सुविधासम्पन्न भवनमा सूचना र प्रविधिका अत्याधुनिक साधनको प्रयोग गरेर शिक्षा दिइँदै आइएको शिक्षालयका प्रअ गर्बुजाजानकारी दिनुभयो । विद्यार्थीलाई किसानका खेतबारी र पशुगोठमा नै लगेर प्रयोगात्मक शिक्षा दिइँदै आएको उहाँको भनाइ छ । शिक्षालयमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ ।विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, पाँच वर्षअघि (विसं २०७४ देखि) तीनवर्षे आइएस्सी (एजी) र २०७६ सालदेखि भेटेरिनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा अध्यापन हुँदै आएको छ ।

शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १२ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका छन् । हाल शिक्षालयमा ९० छात्रा र ५१ छात्र अध्ययनरत रहेका जनाइएको छ ।हाल शिक्षालयमा विभिन्न जिल्लाका एक सय ४१ विद्यार्थी अध्ययनरत छन् । कृषि डिप्लोमा ५१, डिप्लोमा पशुतर्फ ६० र प्री डिप्लोमातर्फ ३० जना गरी एक सय ४१ विद्यार्थीले कृषि र पशुसम्बन्धी शिक्षा लिइरहेका छन् ।

मासिक रु पाँच हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको शिक्षालयले जनाएको छ । शिक्षालयका प्रअ गर्बुजाका अनुसार शिक्षालयले कृषि तथा पशु क्षेत्रका समुदायसँग समन्वय गरी स्थानीयस्तरमाट नै पशु चिकित्साका बारेमा ज्ञान दिने उद्देश्यसहित विभिन्न कार्यक्रम गरिरहेको छ ।भौतिक पूर्वाधारले सम्पन्न किसानी शिक्षालयले पछिल्लो समय बाली र पशु विज्ञानमा राम्रो नतिजा प्राप्त गर्दै आएको स्थानीय टेकबहादुर जुग्जालीले बताउनुभयो ।

आइएस्सी (एजी) तेस्रो सेमिस्टरमा अध्ययनरत छात्रा कामना मगरले कृषिप्रधान देश भए पनि अधिकांश जग्गामा व्यावसायिकरूपमा खेती नगरिँदा बाँझिएको र आफू कृषि प्राविधिक भएपछि किसानलाई परम्परागत तरिकाले होइन, आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमा खेती गर्न सिकाउने उद्देश्यले यस विषयमा आकर्षित भएको बताउनुभयो ।  रासस