२०८१ जेठ ३ , बिहिवार

मन्थलीमा ढुङ्गाबाट जिल्लाको चिनारी गराउने अभियान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
रामेछाप जिल्लालाई जुनारको जिल्ला भनेर चिनाउनका लागि एक समाजिक संस्थाले जिल्लाको विभिन्न नदीमा यत्रतत्र छरिएर रहेका ढुङ्गा सङ्कलन गरी मन्थली बजारका सरकारी कार्यालय वरिपरि उपयुक्त स्थानमा रङरोगन गरेर राखी जिल्लाको पहिचाहन गराउने अभियान थालेको छ ।

सामाजिककार्यमा क्रियाशील रामेछाप–काठमाडाँै सृजनशील समाजले जिल्लामा रहेका सरकारी कार्यालयको मूलढोका नजिकै तथा सडकको नाला छेउमा ढुङ्गालाई रङ लगाएर राखी जिल्लाको चिनारी गराउने अभियान थालेको हो । समाजले स्थानीय तामाकोसी र रणजोर खोलामा रहेका ढुङ्गालाई सङ्कलन गरेर जिल्ला सदरमुकामका विभिन्न कार्यालय वरिपरि राखेर जुनारको रङसँग मिल्ने रङ लगाई जिल्लाका पालिका र वडाको जुनारको रङमा पहिचाहन गराउने अभियान थालेको हो ।

जिल्लामा रहेको सघन सहरी कार्यालय छेउबाट सुरु भएको अभियान जिल्ला प्रशासन, हुलाक, टेलिकम घरेलु हुँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको ढोकासम्म यस्ता ढुङ्गा सिङ्गारिएर राखिएका छन् । सरकारी कार्यालयकोे मूलढोका नजिक ढुङ्गा राखेर जिल्लामा रहेका मन्थली र रामेछाप नगरपालिकासहित आठवटै स्थानीय तह र साविकका ५५ वटा गाविसको नाम लेखिएको छ ।

यो अभियानले मन्थली बजारको सौन्दर्यता बढाएको र रामेछाप जिल्ला जुनारको जिल्ला हो भन्ने चिनारी दिन सदरमुकाममा झल्को दिएको स्थानीय टङ्ककुमार श्रेष्ठले बताउनुभयो । जिल्ला सदरमुकाम आउने जोसुकै नागरिकले पनि आ–आफ्नो पालिका र वडाको नाम, जुनारको रूपमा पाउँदा गौरवान्वित हुने र बजार पनि सफा र आकर्षक देखिने भएकाले यो अभियान चलाएको रामेछाप–काठमाडाँै सृजनशील समाजका अध्यक्ष विपीन भट्टराईले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जिल्लाको मन्थली रामेछाप र सुनापति गाउँपालिकालाई जुनार जोन घोषणा गरी विभिन्न कार्यक्रम गरिरहेको छ । यसरी जुनारको रङमा पालिका र साविकका गाविस तथा वर्तमान वडाको चिनारी गराउँदा सो क्षेत्रमा काम गर्ने आफूहरू र जुनार उत्पादक किसानले समेत गौरवको अनुभूति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेले बताउनुभयो ।

समाजले यो अभियानलगायत जिल्ला सदरमुकाम मन्थलीमा कतै सृजनशील टावर पनि निर्माण गरेको छ । सरकारी कार्यालय वरिपरि डोको डस्टविनको अभियान पनि चलाएर रचनात्मक क्रियाकलाप गर्दै आएको छ । मन्थली नगर र विभिन्न्न कार्यालयले वरिपरि यस प्रकारको सरसफाइ र सजावट गर्न सके सधैँ सफा र सुन्दर मन्थली देख्न सकिने स्थानीय गुञ्जबहादुर श्रेष्ठले बताउनुभयो ।  रासस