२०८१ जेठ ३ , बिहिवार

दुर्गम गुर्जामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । सङ्घीय सरकारको समपूरक अनुदानमा धवलागिरि गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । म्याग्दीको छवटा स्थानीय तहको ४५ वडामध्ये सडक यातायातको सुुविधा नभएको वडा गुर्जामात्र हो ।

पाँचवटा कोठा र एकतले भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री रहेको धवलागिरि गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिनुभयो । भवन निर्माणका लागि रु एक करोड ३९ लाख पाँच सय ९४ मा ठेक्का लिएको पौडेल निर्माण सेवा बागलुङले रु एक करोड १७ लाख ३४ हजार एक सय १७ भुुक्तानी पाएको उहाँले बताउनुुभयो ।

बिरामीको स्वास्थ्य परीक्षण, उपचार, औषधि भण्डारण, प्रसूति, प्रशासनका लागि छुट्टाछुट्टै कक्ष रहेका छन् । निर्माण सकिएपछि स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

“यसअघि कच्ची र जीर्ण भवनको साँघुुरा कोठामा स्वास्थ्य चौकी सञ्चालन भएको थियो”, उहाँले भन्नुभयो, “नयाँ भवन बनेपछि सेवाग्राही र स्वास्थ्यकर्मीलाई सहज भएको छ ।” अल्पसङ्ख्यक छन्त्याल र दलित समुुदायको बसोबास रहेको गुर्जामा दुई सय ५० घरधुरी छन् । गुर्जा पुुग्न छिमेकी गाउँ लुुलाङबाट पूरै दिन जङ्गल र भिरको बाटोमा पैदलयात्रा गर्नुपर्छ ।

धवलागिरि गाउँपालिकामा पछिल्लो एक वर्षयता रु दुई करोड ७३ लाखको लागतमा गुुर्जा र मुनामा स्वास्थ्य चौकी, ताकम र लुलाङमा वडा कार्यालय भवन निर्माण भएको छ । हिमालयन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले रु ३९ लाख ७२ हजार ८१ मा ठेक्का लिएको मुना स्वास्थ्य चौकीको दुईतले सभाहलसहित नौकोठे भवन निर्माणमा पछिल्लोपटक रु ३७ लाख पाँच हजार दुई सय छ खर्च भएको छ ।

थापा निर्माण सेवाले ठेक्का पाएको लुलाङ वडा कार्यालय भवन निर्माणमा रु ५७ लाख ५९ हजार छ सय ९७ खर्च भएको सबइन्जिनियर रावलले बताउनुभयो । यसअघि रु ४७ लाख खर्च भएको ताकम वडा कार्यालयको भवनलाई पूर्णता दिन पछिल्लोपटक थप रु १४ लाख ५९ हजार पाँच सय ९२ खर्च भएको छ ।

लुलाङको वडा कार्यालय विसं २०७७ र अन्य तीनवटा भवन २०७८ मा निर्माण सुरु भएको थियो । घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, ताकममा पाँच श्यया क्षमताको अस्पताल, मुदीमा स्वास्थ्य चौकी र मराङमा वडा कार्यालयको भवन निर्माणाधीन छन् ।सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन गाउँपालिका, स्वास्थ्य चौकी, अस्पताल र वडा कार्यालय भवन निर्माणमा जोड दिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।  रासस