२०८१ बैशाख १५ , शनिवार

हिन्दू र मुस्लिमको आस्थाको केन्द्र बन्दै मुसबेटवा बाबा मजार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बाँकेको खजुरा गाउँपालिका –४ स्थित मुसबेटवा बाबा मजार हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र बन्दै गएको छ । प्रत्येक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म मुसबेटवा बाबा मजारमा लाग्दै आएको मेलामा हिन्दू र मुस्लिम दुवै समुदायका सर्वसाधारणले च्यादर ओढाएर श्रद्धा व्यक्त गर्ने गर्दछन् ।“यो मजारमा मुस्लिम धर्मगुरु रहने भए पनि हिन्दू समुदायकोसमेत उत्तिकै आस्था र विश्वास छ”, स्थानीय अगुवा झकबहादुर पौडेलले भन्नुभयो, “मजारमा हिन्दू र मुस्लिम समुदाय अन्य दिनमाभन्दा मेलाको समयमा अधिक आउने गर्दछन् ।”

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले मुसबेटवा बाबा मजार मेला धार्मिक सद्भावको नमुनाका रुपमा रहेको बताउनुभयो । यहाँ भारतका विभिन्न स्थानबाट समेत मनोकामना पूरा हुने भन्दै भक्तजन आउने गरेका छन् ।हिन्दू र मुस्लिम समुदायले एकसाथ विश्वास गर्ने भएकाले मुसबेटवा बाबाको मजार दुवै समुदायको आस्थाको केन्द्र बन्दै गएको गाउँपालिका अध्यक्ष विकको भनाइ छ । हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म मुसबेटवा बाबाको मजारमा मेला लाग्ने गर्दछ ।

हजरथ मुसा सा रामतुल्ला अलय र मुसबेटवा बाबाको नामले चिनिने उक्त मजारमा वर्षौँदेखि दुवै धर्मावलम्बीले पूजा गर्दै आएका छन् । मजारमा हुने सामूहिक पूजाले दुवै धर्मावलम्बीबीच सद्भाव बढाएको स्थानीय अगुवा सतिश निरौलाले जानकारी दिनुभयो ।उहाँका अनुसार, दैनिक पूजा हुने मजारमा बिहीबार र शुक्रबार भक्तजनको भीड लाग्ने गर्छ । मजारमा श्रीपञ्चमीका दिन वार्षिकरूपमा ठूलो मेला लाग्ने र विभिन्न धर्मावलम्बीले मेला भर्ने गरेका छन् ।

आस्था र विश्वासको धरोहर भएकाले पनि मजारमा सन्तान नभएकाले छोराछोरी प्राप्तिका लागि वर माग्ने गरेका छन् । विश्वासले पूजाका लागि फरक धर्मका भक्तजन मजारमा आउने र धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गरेको उहाँले उल्लेख गर्नुभयो ।हिन्दू र मुस्लिमबीचको साझा धार्मिक सद्भाव बोकेको यस मजारमा पूजाआजा गरे मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण दुवै समुदायका भक्तजन दर्शन गर्न आउने गरेका छन् । दुवै समुदायमा मुसबेटवा बाबासँग मागेको कुरा पूरा हुने धार्मिक विश्वास छ । सरस्वती पूजाका दिन यहाँ बाबाको दर्शन गर्न भन्दै हिन्दु र मुस्लिम दुवै धम्र्मालम्बीको भीड लाग्छ ।

“यहाँ २०२३ सालदेखि नै हिन्दू र मुस्लिम समुदायले पूजाआजा गर्दै आएको किंवदन्ती रहेको छ”, खजुरा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष टेकबहादुर रोकायाले भन्नुभयो, “दुवै धर्मालम्बीको आस्थाको केन्द्रका रुपमा धार्मिक र ऐतिहासिक महत्व बोकेको मजारको ऐतिहासिक महत्व दर्शाउन संरक्षण जरुरी रहेको छ ।”मुसवेटवा बाबालाई च्यादर चढाएमा मागेको कुरा पूरा हुने दुवै धर्मावलम्वीको विश्वास छ । चाहे हिन्दू होस् या मुस्लिम, दुवै समुदायलाई धार्मिकरुपमा मुसवेटवा बाबाले एकतामा बाँधेर आपसी सद्भावलाई बलियो बनाएको वडाध्यक्ष रोकायको भनाइ छ ।वडाध्यक्ष रोकायले धार्मिक र सामाजिक सद्भावको मजारलाई थप व्यवस्थित बनाउन सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।  रासस