२०८१ बैशाख १८ , मंगलबार

सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको तयारी, के के हुँदैछ नयाँ ब्यवस्था ?

smart-license-1024×542

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन तयारी गरेको छ । यातायात व्यवस्था विभागका अनुसार सवारी तथा यातायात व्यवस्था विधेयक-२०८० को मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

सवारी क्षेत्रमा विभिन्न परिवर्तनहरू भइरहेका छन्। चलायमान रहने यो क्षेत्रको तीन दशकभन्दा अघिको सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ लाई संशोधन गर्दै सवारी तथा यातायात व्यवस्था ऐन-२०८० जारी गर्न लागिएको हो।

 

 

विधेयकको मस्यौदामा नेपालमा सवारी साधन उत्पादन एवम् एसेम्बलसम्बन्धी व्यवस्था समेटिएको छ। हालसम्म संघीय कानुनमा यससम्बन्धी कुनै व्यवस्था छैन। यसैकारण पछिल्लो समय नेपालमै उत्पादन हुने ुयात्रीु बाइकको दर्ता प्रक्रिया झन्झटिलो हुन पुगेको थियो।

मस्यौदामा नेपालमा उत्पादन भएका वा एसेम्बल भएका सवारी साधनको दर्ता प्रक्रियालगायत नियमनसम्बन्धी कानुन उल्लेख छ। जसअनुसार यस्ता सवारी प्रदेश कानुन बमोजिम दर्ता भई सञ्चालन गर्नुपर्नेछ।

 

त्यस्तै राइड सेयरिङ एप सञ्चालनसम्बन्धी विषय पनि समेटिएको छ।

विधेयक मस्यौदामा सवारीको दर्ता, पुनः दर्ता, नामसारी, नवीकरण, विवरण हेरफेर र लगतकट्टा लगायतको विषय विभागले नभई प्रदेश कानुन बमोजिम हुने समेत व्यवस्था गरिएको छ।

त्यस्तै, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी पनि नयाँ व्यवस्था लागू हुने सम्भावना उच्च छ। लाइसेन्सको बहाल अवधि दस वर्षको हुने व्यवस्था लागू गर्न खोजिएको हो। अहिले पाँच वर्ष छ।

म्याद नाघेको पाँच वर्षसम्म पनि थप दस्तुर बुझाई नवीकरण नगरेमा लाइसेन्स स्वतः रद्द हुने प्रस्ताव पनि अघि सारिएको छ।

 

विधेयक मस्यौदामा सवारीको मापदण्ड, वर्गीकरण र अनुमति तथा दर्तासम्बन्धी व्यवस्था गरिएको छ।

मोटरसाइकल वा अन्य दुईपांग्रे सवारी साधन चलाउँदा चालक र यात्रु दुवैले हेल्मेट लगाउनुपर्ने व्यवस्था पनि मस्यौदामा छ।