
सुनाखरी न्युज/ काठमाडौं ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गर्नुुभएको थियो ।
प्रशिक्षणको समापन कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले वैदिककालभन्दा अघि सारङ्गीको उत्पत्ति भएको बताउँदै एक तार हुँदै आज सारङ्गीको विकसित रुप चार तारसम्म आइपुगेको बताउनुुभयो । ऐतिहासिक महत्व बोकेको सारङ्गी गन्धर्व समुदायसँग जोडिनु खुसीको कुरा भएको उहाँले बताउनुुभयो ।
नेपाली लोक भाकामा प्रयोग गरिने सारङ्गी बाजा मात्र नभई व्यवसाय पनि भएको उल्लेख गर्दै उहाँले नयाँ पिँढीले यसको संरक्षण प्रवद्र्धनका साथै व्यवसायसँग पनि जोड्नुपर्ने आवश्यकता औँल्याउनुुभयो ।प्रशिक्षणका सहजकर्ता सम्मरबहादुरले यस्तो प्रकारको प्रशिक्षणले नयाँ पिँढीलाई आर्कषण गरेको बताउनुुभयो । प्रशिक्षणका लागि एक महिनाको समयावधि कम भएको भन्दै उहाँले यस्ता प्रशिक्षण निरन्तर हुनुपर्ने आवश्यकता औँल्याउनुुभयो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको बताउँदै पछिल्लो समयमा नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेशभूषा र संस्कृतिप्रति उदासिन बन्दै गइरहेको जनाउँदै चिन्ता व्यक्त गर्नुुभयो ।
हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले प्रशिक्षणले नयाँ पुस्तामाझ सारङ्गी बाजाको महत्वलाई उजागर गरेको बताउनुुभयो । प्रशिक्षण गत पुस २७ गतेबाट सञ्चालन भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुुभयो । रासस