२०८१ बैशाख २४ , सोमवार

अधिकांश बैंकहरूले फागुनका लागि घटाए ब्याजदर (सूचीसहित)

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

अधिकांश वाणिज्य बैंकहरूले फागुन महिनाका लागि  निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ । बैंकहरुले साउनदेखि भद्र सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएका छन् ।

४ वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरु १६ बैंकले घटाउँदा औसत निक्षेप ब्याजदर तल झरेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको छ, जुन ब्याजदर १० वर्षभन्दा माथि अवधिको लागि एनएमबीले प्रकाशन गरेको हो । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकले ८.५० प्रतिशतभन्दा धेरै ब्याज दिने छैनन् ।

बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ । बैंकहरुले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.५० प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ ।