२०८१ जेठ ५ , शनिवार

सुशील कोइराला स्मृति दिवसमा दौड प्रतियोगिता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा यहाँ महिला तथा पुरुषको खुला दौड प्रतियोगिता आयोजना गरिएको छ ।आज बिहान विराटनगरको महेन्द्र (जनआन्दोलन) चोकदेखि बगरगाछीसम्म चार किलोमिटरको दौड प्रतियोगिता भएको हो ।

प्रतियोगितामा महिलातर्फ अंशु मण्डल, तुलसा खतिवडा र रोशनी साह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । यसैगरी पुरुषतर्फ अमर यादव, याङ्देव राई र सुनिल मेहता क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विजयीलाई नगदसहित प्रमाणपत्र वितरण गर्दै खेलकुदका लागि आवश्यकपर्ने पूर्वाधार, प्रशिक्षण एवं सामग्री उपलब्ध गराउन नगरले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खेलकुदका माध्यमबाट नगर, प्रदेश र मुलुकको नाम विश्वमा राख्न खेलाडीले निरन्तर अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले र कार्यक्रम संयोजक प्रकाश दाहालले खेलकुदका माध्यमबाट आजका युवालाई अनुशासित बनाई मुलुकको विकासमा लाग्न योग्य बनाउनुपर्ने धारणा राख्नुभयो । आज भएको प्रतियोगितामा महिला र पुरुष गरी ३३ जनाको सहभागिता थियो ।  रासस