२०८१ बैशाख २५ , मंगलबार

सुडानमा युद्ध प्रभावितको सहयोगका लागि चार अर्ब डलर आवश्यक पर्ने

dollar

सुनाखरी न्युज/ काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त सुडानमा रहेका र शरणार्थीका रूपमा विस्थापित नागरिकका लागि अति आवश्यक सहयोग उपलब्ध गराउन चार अर्ब १० करोड अमेरिकी डलर माग गरेको छ ।

सुडानमा गत वर्षको अप्रिलमा सुरु भएको नृशंस द्वन्द्वले मानवीय पतन निम्त्याएको छ । यहाँको आधाभन्दा बढी जनसङ्ख्या अर्थात् करिब दुई करोड ५० लाख मानिसलाई सहायता र संरक्षणको खाँचो परेको छ ।संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यजारी गर्दै भन्नुभएको छ, “१० महिनाको द्वन्द्वले सुडानका जनताको सुरक्षा, घर र जीविकोपार्जनजस्ता लगभग सबै कुरा लुटेको छ ।”

सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का कमाण्डर मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा पश्चिमी डार्फर क्षेत्रको एउटा सहरमा १० हजारदेखि १५ हजारको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको द्वन्द्व विज्ञले बताएका छन् ।सुडानमा बढ्दो तनावले भोकमरी निम्त्याएको छ र लगभग एक करोड ८० लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

यसैबीच, तीव्र शत्रुताले पानी आपूर्ति सञ्जाल र अन्य महत्वपूर्ण नागरिक पूर्वाधारमा क्षति पु¥याइरहेको छ र द्वन्द्व प्रभावित राज्यहरूमा लगभग तीन चौथाई स्वास्थ्य सुविधाहरू सेवाबाट बाहिर रहेका छन् ।यससँगै हैजा, दादुरा, औलो जस्ता रोगहरु तीव्र गतिमा फैलिरहेका छन् । यससँगै कुपोषणको बढ्दो दरका कारण पश्चिमी डार्फर क्षेत्रमा विस्थापित व्यक्तिहरूका लागि बनाइएको जमजम शिविरमा प्रत्येक दुई घण्टामा कम्तीमा एक बच्चाको मृत्यु हुने अवस्था सिर्जना भएको ‘डक्टर्स विदाउट बोर्डर्स’ र अन्य सङ्घसंस्थाहले यसै हप्ता चेतावनी दिएका छन् ।

लैङ्गिक हिंसाका व्यापक विवरणहरूको बीचमा, युद्धले विश्वको सबैभन्दा ठूलो सुरक्षा र विस्थापन सङ्कट पनि सिर्जना गरेको छ ।संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार करिब ८० लाख मानिस आफ्नो घर छोडेर भागेका छन्, जसमध्ये १५ लाखभन्दा बढी छिमेकी मुलुक प्रवेश गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले यस वर्ष एक करोड ४७ लाख मानिसलाई देशभित्र अति आवश्यक सहायता उपलब्ध गराउन दुई अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।ग्रिफिथ्सले भन्नुभयो, “दाताहरूको उदारताले हामीलाई बालबालिकालाई खाना, पोषण, आवास, स्वच्छ पानी र शिक्षा प्रदान गर्न तथा लैङ्गिक हिंसाको प्रकोपसँग लड्न र बाँचेकाहरूको हेरचाह गर्न मद्दत गर्दछ ।

“गत वर्षको अपीलको आधाभन्दा कम वित्तपोषित थियो । तात्कालिकताको उच्च भावनाको साथ यस वर्षहामीले अझ राम्रो गर्नै पर्छ ।यसैबीच संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसीआरले सुडानका पाँच छिमेकी मुलुकका करिब २७ लाख शरणार्थी र उनीहरूका समुदायका सदस्यलाई सहयोग गर्न थप एक अर्ब ४० करोड अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।  रासस/एएफपी