२०८१ बैशाख १५ , शनिवार

अस्थायी सिकाइ केन्द्रले पठनपाठनमा सहज

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
जाजरकोट भूकम्पबाट क्षतिग्रस्त रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा अस्थायी सिकाइ केन्द्र निर्माण गरी पठनपाठनमा सञ्चालन गरिएको छ । नगरपालिकाको वडा नं १३ र १४ का दुई विद्यालयमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भइरहेको हो ।

वडा नं १३ को जनयुवा आधारभूत विद्यालय भल्माज्युला र वडा नं १४ को आदर्श माध्यमिक विद्यालय हल्देमा ती केन्द्रमार्फत पठनपाठन भइरहेको छ । अस्थायी सिकाइ केन्द्रबाट विद्यार्थीलाई पठनपाठन गराउन निकै सहज भएको आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नरबहादुर ओलीले बताउनुभयो । उहाँका अनुसार बुद्धिष्ट चार्टर्ड फाउन्डेसनको आर्थिक सहयोगमा भूकम्प प्रतिरोधी भवन निर्माण गरी विद्यार्थीको पठनपाठन अगाडि बढाएको हो ।

“अस्थायी सिकाइ केन्द्र निर्माण गरी पठनपाठन गर्दा विद्यार्थीसँगै शिक्षकलाई पनि सहज भएको छ । चिसो समयमा पनि पठनपाठनमा समस्या भएको छैन्, घामपानी र हावाहुरीबाट पनि सुरक्षित रहन सकिने भएको छ”, सहायक प्रध्यानाध्यापक ओलीले भन्नुभयो ।

चुजी चार्टर्ड फाउन्डेसनले रु २५ लाख खर्चेर आदर्श माध्यमिक विद्यालयमा नौ कोठाको अस्थायी सिकाइ केन्द्र निर्माण गरेको हो । विद्यालयलाई थप नौ कोठा आवश्यक भएको उहाँको भनाइ छ । प्रत्येक कक्षा कोठा ४० देखि ५५ जना विद्यार्थी अट्न सक्ने क्षमताका छन् । केन्द्र निर्माणमा जस्तापाता, सिमेन्ट, फलाम, बोर्ड, पिफम र पलाइउड प्रयोग गरिएको छ । उक्त संरचना ३० वर्षसम्म टिक्ने, प्रयोग भएका सामग्री पुनः अर्को ठाउँमा लगेर पनि प्रयोग गर्न सकिने खालका छन् ।

अस्थायी सिकाइ केन्द्रले पढ्न सहज भएको सो विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा बालिका मल्लले बताउनुभयो । “त्रिपाल मुनी बसेर पढ्न गाह्रो हुन्थ्यो, अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु भएदेखि चिसो र हावाहुरीबाट बच्न सहज भएको छ । पक्की भवनमै बसेर पढ्ेको जस्तो महसुस भएको छ”, उहाँले भन्नुभयो ।

बालशिक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा अहिले केही कक्षाका विद्यार्थीलाई खुल्ला आकाशमुनी चौरमा राखेर पठनपाठन भइरहेको सहायक प्रअ ओलीले जानकारी दिनुभयो । विद्यालयमा शौचालय तथा पानीको अभाव हुँदा समस्या हुने गरेको उहाँको भनाइ छ । गत कात्तिक १७ गतेको भूकम्पबाट विद्यालय भवनसमेत बस्नै नमिल्ने गरी चर्किएको छ ।नगरपालिकाको वडा नं १३ मा रहेको जनयुवा आधारभूत विद्यालयमा पनि चारवटा कक्षाकोठासहितको अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । उक्त केन्द्र निर्माणमा रु १४ लाख खर्च भएको थियो ।

त्रिपालमुनीका विद्यार्थीलाई समस्या

भूकम्प प्रभावित केही विद्यालयका विद्यार्थीहरु अझै पनि त्रिपालमुनी बसेर पढ्न बाध्य छन् । आठबीसकोट–१४ ज्यामिरकोमटमा रहेको जनविकास माध्यमिक विद्यालयमा बालशिक्षादेखि कक्षा १० सम्मका तीन सयभन्दा बढी विद्यार्थी त्रिपालमुनी अध्ययन गरिरहेको सो विद्यालयका प्रध्यानाध्यापक दीपकसङ्गम थापाले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जिल्लाका छ वटा स्थायीय तहमा दुई सय १३ अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन भइरहको जानकारी दिनुभयो । विद्यालयका भवन पुनःनिर्माण नहुन्जेल अस्थायी सिकाइ केन्द्रबाट नै पठनपाठन हुने पुनले बताउनुभयो । जाजरकोट भूकम्पबाट रुकुम पश्चिममा एक सय आठ विद्यालयका पाँच सय ४४ कक्षाकोठा, एक सय ३८ वटा शौचालयमा क्षति पुगेको थियो ।  रासस