२०८१ बैशाख १८ , मंगलबार

धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नूः बालेन शाह

Balen

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निस्शुल्क पार्किङ बन्द नहुने बताएका छन् ।

शहरी विकास मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् ।

मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।

 

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्दा दिएको अभिव्यक्तिको स्मरण गराउँदै बालेनले भनेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा ‘नबनेको भए म बीसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

 

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा निस्शुल्क पार्किङको व्यवस्था गरेको थियो ।

त्यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने मेयर बालेन शाहले बताएका छन् । अहिले त्यहाँको पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय पनि देखिएको शंका गर्दै उनले महानगरले निजी स्वार्थका लागि प्रयोग हुन नदिने चेतावनी समेत दिएका छन् ।