२०८१ बैशाख २३ , आइतवार

नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गरिँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
धनगढी उपमहानगरपालिका बजार क्षेत्रका वडाबाट दैनिक २० देखि २५ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ । सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो ।

झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, आल्मुनियम, टायर र ट्युबलगायत नकुहिने फोहर सङ्कलन गरी बिक्री गरिने उपमहानगरपालिकाले जनाएको छ ।

नगरले बजार क्षेत्रका नौवटा वडाबाट सङ्कलन गरिएको फोहर सुक्ष्म वर्गीकरण गरेर बिक्रीका लागि तयार गरेको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले बताउनुभयो । धनगढी–२ मा एक बिघा जग्गा वार्षिक रु ८८ हजार आठ सय ८८ मा भायामा लिएर सूक्ष्म वर्गीकरण केन्द्र स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

सो वर्गीकरण केन्द्रमा रु १९ लाखका उपकरण तथा संरचना निर्माण गर्नुका साथै रु सात लाखको घेरबारसमेत गरिएको जनाइएको छ । अवस्थीका अनुसार उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुई जना प्राविधिकसहित १२ जनाले गत वैशाखदेखि उक्त केन्द्र सञ्चालनमा ल्याएका छन् । केन्द्रले रु १३ लाख ५१ हजारमा नकुहिने फोहर बिक्रीका लागि तयार गरी बोलपत्र आह्वान गरिसकेको उहाँले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अवस्थीले पहिलो पटक फोहर बिक्रीबाट रु १३ लाख ५१ हजार आम्दानी हुने बताउनुभयो । उहाँका अनुसार वर्गीकृत फोहरलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढेको छ ।

विगतका वर्षमा उपमहानगरले बजार क्षेत्रबाट सङ्कलन भएको फोहर नदी किनार तथा जङ्गल क्षेत्रमा थुपार्दै आएकामा पहिलो पटक सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएर आम्दानी गर्ने भएको हो ।

उक्त आम्दानीबाट केन्द्रका कर्मचारी, विद्युत् शुल्क, फोहर सङ्कलन गर्ने कर्मचारी तथा गाडीमा लाग्ने इन्धनको खर्चको व्यवस्थापन गर्ने उपमहानगरपालिकाको योजना छ । रासस