२०८१ बैशाख १७ , सोमवार

यू-१९ विश्वकपः नेपाल फराकिलो अन्तरले भारतसँग पराजित

सुनाखरी न्युज/ काठमाडौं ।

आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो ।

 

नेपालका ११ औं नम्बरका खेलाडी दुर्गेश गुप्ता ४३ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औं नम्बरमा आएका आकाश चन्दले ३५ बलमा १८ रन बनाए । अन्तिम विकेटका लागि यी दुई खेलाडीले ६९ बलमा ४५ रनको साझेदारी गरेका थिए ।

नेपालका कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । अर्जुन कुमालले ६४ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाए ।

 

नेपाललाई ओपनर अर्जुन कुमाल र दीपक बोहराले पहिलो विकेटका लागि १३।२ ओभरमा ४८ रनको संयमित सुरुवात दिलाएका थिए । राज लिम्बानीको बल पुलसट खेल्ने चक्करमा एज लागेर दीपक बोहरा २२ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । उनले ४२ बल ३ चौका हानेका थिए ।