२०८१ बैशाख १९ , बुधवार

काठमाडौं लगायत देशका केही स्थानमा हल्का बर्षा, आइतबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना

weather2

सुनाखरी न्युज/ काठमाडौं ।

पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका र आसपासका जिल्लामा हल्का वर्षा भएको छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा भने वर्षासँगै हिमपात पनि भएको छ ।

 

पश्चिमी वायुको अहिलेको प्रणाली पूर्वतिर सर्दै जाने क्रममा काठमाडौंमा पनि छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्ने क्रममा छ । त्यसैले पश्चिमतिर मौसममा सुधार भइसकेको छ । काठमाडौंको वर्षा पनि केही घण्टामै रोकिने महाशाखाले जनाएको छ ।

 

 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद महाशाखाका मौसमविद गोविन्द झाका अनुसार पश्चिम नेपालमा प्रक्षेपण गरेअनुसारकै हिमपात र वर्षा भएको छ । महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा पश्चिम नेपालका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने उल्लेख थियो ।

सबैभन्दा धेरै डडेलधुरामा ३२.८ मिलिमिटर वर्षा भएको छ । यसैगरी कालिकोटतिर ३२ मिलिमिटर, दैलेखतिर १५ देखि २० मिलिमिटरसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ ।

‘१० मिलिमिटर भन्दा बढी र ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम वर्षा भनिन्छ, यस अनुसार पश्चिम नेपालका अधिकांश पहाडी भूभागमा मध्यम वर्षा भएको छ,’ मौसमविद झाले भने ।

पहाडी क्षेत्रको तुलनामा पश्चिमकै तराई क्षेत्रमा भने कम पानी परेको छ । उदाहरणका लागि बाँकेको नेपालगञ्ज १ मिलिमिटर मात्र वर्षा भएको छ ।

 

आज अपराह्नदेखि काठमाडौं उपत्यकामा पनि पानी परेको छ । यसअघि मौसमविदले काठमाडौंमा पानी पर्ने सम्भावना कम रहेको जनाएका थिए । परिहालेछ भने पनि फाट्टफुट्ट मात्र पर्ने उनीहरुको भनाइ थियो ।

मौसमविद झाका अनुसार काठमाडौंमा अपराह्नदेखि फाट्टफुट्ट मात्र वर्षा भएको छ । उपत्यकाभित्रका जिल्लाहरुमा एकनासको वर्षा भने छैन ।

 

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार आज रातिदेखि नै काठमाडौंमा पानी पर्न रोकिने छ । भोलि काठमाडौंमा बादल लाग्ने सम्भावना छ । तर शनिबार भने घाम लाग्ने गरी बादल हट्ने उनले बताए ।