२०८१ बैशाख १५ , शनिवार

सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुल्यो

Capture

सुनाखरी न्युज / काठमाडौं ।
सिञ्जा गाउँपालिकाको–६ स्थित भाडगाउँको दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ ।

शिक्षालयलाई चाहिने जग्गा पास भएको छ । गाउँपालिकाको लगातारको लामो प्रयासपश्चात प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाको काम अब अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

हालसम्म कुल १७ हजार एक सय ६५ वर्गमिटर जग्गा प्राप्त भएको छ । बाँकी थप जग्गा प्राप्तिको क्रममा रहेको गाउँपालिकाका अध्यक्ष धितालको भनाइ छ । सिटीइभिटी सानोठिमी भक्तपुरले सिञ्जालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको सिटीइभिटी पोलिटेक्निक महाशाखाका निर्देशक देवेशचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्नेगरी आङ्गिक शिक्षालयका लागि औपचारिकरूपमा जग्गा पास भएको गाउँपालिकाका सूचना अधिकारी मित्रलाल धितालले जानकारी दिनुभयो । सरकारले आफ्नै लगानीमा शिक्षालय स्थापना गर्ने भएको छ । यहाँका विपन्न घरपरिवारका छोराछोरीले प्राविधिक शिक्षामा सहज पहुँच हुने गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले बताउनुभयो ।

बहुप्राविधिक शिक्षालय स्वीकृत गराउन जग्गा निःशुल्क प्रदान हुने व्यवस्था मिलाइएको थियो । समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्नेलगायत समस्या दर्शाएपछि यो ठूलो उपलब्धि हासिल भएको गाउँपालिकाले जनाएको छ ।  रासस