२०८१ बैशाख १७ , सोमवार

पोखरामा माघ २१ ग्तेदेखि अन्तर्राष्ट्रिय भेट्रान फुटबल

football-photo_1w0XsjwJrc

सुनाखरी न्युज / काठमाडौं ।
‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’को नारासहित स्थापित बगर भाइ खलक पोखराले १३औँ संस्करणको ‘बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी गरेको छ ।

प्रतियोगिता यही माघ २१ देखि २७ गतेसम्म पोखराको बगरस्थित टुँडिखेल मैदानमा सञ्चालन हुने आयोजक संस्थाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । संस्थाले समाजका प्रत्येक क्षेत्रका व्यक्तिलाई स्वास्थ्यप्रति जागरुक बनाइ आफ्नो स्वास्थ्यका लागि दिनमा कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्दछ भन्ने सन्देशसहित प्रतियोगितालाई निरन्तरता दिएको बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा विदेशीसहित कुल ३६ टोलीको सहभागिता रहने बताइन्छ । अध्यक्ष गुरुङले भेट्रान खेलाडीलाई लक्षित गर्दै यस वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरी तीन उमेर समूहमा प्रतियोगिता सञ्चालन हुने बताइन्छ ।अध्यक्ष गुरुङले प्रतियोगिताको उद्देश्य युवा पिँढीलाई खेलकुदप्रति आकर्षित गर्नु रहेको बताउनुभयो । अग्रजलाई सम्मान, समकालीनलाई व्यायाम र अनुजलाई खेल स्वास्थ्यप्रति जागरुक बनाउने उद्देश्यसहित संस्थाले गतिविधि अगाडि बढाएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले रु दुई लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान रु पाँच हजारका दरले नगद पुरस्कार पाउने आयोजक संस्थाका महासचिव याम गुरुङले जानकारी दिनुभयो । चालीस वर्षमाथिमा २३ टोलीको सहभागिता रहेको छ ।

यसैगरी ५० वर्षमाथि उमेर समूहका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पाउने छन् । पचास वर्ष वर्षमाथिको प्रतियोगितामा नौ टोलीको सहभागिता रहेको छ । यसैगरी ६० वर्षमाथिका विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार पाउनेछन् । यस विधामा चार टोलीको सहभागिता निश्चित भएको बताइन्छ ।

प्रतियोगितामा पोखरासहित भारतको देहरादुन, काठमाडौँ, ललितपुर, चितनव, सिरहा, हेटौँडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले विसं २०६८ देखि निरन्त भेट्रान फुटबल सञ्चालन गर्दै आइरहेको छ । सोही अवसरमा संस्थाले फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं प्रशिक्षक शम्भु केसीलाई सम्मानित गर्ने भएको छ । राखेपका पूर्वप्रशिक्षकसमेत रहुनभएका केसी वरिष्ठ फुटबल प्रशिक्षक हुनुहुन्छ ।  रासस