२०८१ जेठ ६ , आइतवार

युद्धविराम वार्ताका लागि हमास प्रमुख कायरोमा

Capture

सुनाखरी न्युज / काठमाडौं ।
इजराइलले घेरामा हालेको प्यालेस्टिनी क्षेत्रमा आफ्ना आक्रमणलाई जारी राखेकाले गाजामा प्रस्तावित युद्धविरामबारे छलफल गर्न हमासका नेता बिहीबार कायरो आइपुग्नुहुने अपेक्षा गरिएको थियो ।

हमासले इजराइलसँग आफ्नो युद्धमा छ साताको युद्धविरामको प्रस्तावको समीक्षा गरिरहेको एक स्रोतले एएफपीलाई बताएको छ । पेरिसमा मध्यस्थकर्ताहरू भेला भएपछि विनाशकारी युद्धको गतिमा नयाँ विरामको दिशामा अन्तर्राष्ट्रिय प्रयास भइरहेको थियो ।

गाजामा युद्ध वा हवाई बमबारीमा कुनै कमी आएको छैन । युद्धको वर्तमान ध्यान मुख्य दक्षिणी सहर खान युनिसमा रहेको छ । त्यहाँ हमासका प्रमुख लडाकूहरू लुकेर बसेको इजराइलले बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार सहरमा रातभर धेरै इजराइली हवाई हमला भएको छ । सहायता तथा स्वास्थ्य कार्यकर्ताहरूले विशेषगरी दुई अस्पताल वरपर धेरै दिनदेखि ठूलो युद्धको सूचना दिएका छन् ।प्यालेस्टिनी क्षेत्रका लागि अन्तर्राष्ट्रिय एनजिओ डक्टर्स विदआउट बोर्डर्सका प्रमुख लियो क्यान्सले भन्नुभयो, “अहिले पनि नरसंहार भइरहेको छ ।”

इजराइलले हमासमाथि गाजामा अस्पतालहरूमुनिका सुरुङबाट सञ्चालन गरेको र चिकित्सा संस्थाहरूलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरिरहेको आरोप लगाएको छ । हमासले उक्त आरोपलाई अस्वीकार गरेको छ । हमासलाई युरोपेली सङ्घ (इयु) र अमेरिकाले ‘आतङ्कवादी’ सङ्गठनको संज्ञा दिएका छन् ।विश्व स्वास्थ्य सङ्गठनका आपत्कालीन निर्देशक माइकल रयानले मानवीय सहायता वितरणमा अवरोधका कारण जनसङ्ख्या ‘भोकै मरिरहेको’ बुधबार बताउनुभयो । “गाजाका बासिन्दा यो द्वन्द्वका पक्षहरू होइनन् र उनीहरूलाई उनीहरूको स्वास्थ्य सुविधाजस्तै सुरक्षित गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

पछिल्लो अपडेटमा संयुक्त राष्ट्रसङ्घले गाजापट्टी विशेषरूपमा खान युनिसमा व्यापक बमबारीको सूचना दिएको छ । उसले खान युनिस सहरबाट एक लाख ८४ हजार प्यालेस्टिनी आफ्नो घर छाडेर भागेपछि मानवीय सहायता प्राप्त गर्नका लागि दर्ता गरेको बताएको छ ।कतार र इजिप्टको नेतृत्वमा मध्यस्थताको प्रयास तीव्र हुँदै गर्दा हमास नेता इस्माइल हानियेह गत साता पेरिसमा पारित एउटा युद्धविराम प्रस्तावमाथि छलफल गर्न बिहीबार सिआइए प्रमुख विलियम बर्न्ससँग कायरो आउँदै हुनुहुन्थ्यो ।

तीन चरणको योजना युद्धको सुरुआती छ साताको विरामका साथ सुरु हुने र यसबाट गाजापट्टीमा थप सहायता पुर्याइने हमासको एक स्रोतले बताएको छ । वार्ताको संवेदनशीलताका कारण नाम नछाप्न अनुरोध गर्दै स्रोतले इजराइलमा प्यालेस्टिनी बन्दीहरूको बदलामा उक्त चरणमा हमासले नियन्त्रणमा राखेका ‘महिला, बालबालिका र ६० वर्षभन्दा धेरै उमेरका बिरामी पुरुष’ लाई मात्र मुक्त गरिने बताएको छ ।“इजराइली सेनाको फिर्तीलाई लिएर पनि वार्ता हुनेछ”, स्रोतले भनेको छ । स्रोतका अनुसार सम्भावित अतिरिक्त चरणहरूमा थप बन्धक–बन्दी आदान प्रदान पनि समावेश हुनेछ । रासस/एएफपी