२०८१ जेठ ८ , मंगलबार

ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र

Capture

सुनाखरी न्युज / काठमाडौं ।
व्यास नगरपालिका-१ जलदेवी चोक निवासी ६९ वर्षे भोजबहादुर दाहालको दैनिकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा बित्ने गरेको छ । बिहानको खाना खाएपछि करिब आधा घण्टा पैदल हिँडेर केन्द्रमा पुग्ने उहाँ दिनभर त्यही विताउनुहुन्छ ।

“उमेरका कारण घरमा बसेर काम गर्न पनि सकिदैन्, खाना खाएर निस्केपछि साथीभाइसँगको भलाकुसारीमा समय बितेको पत्तै हुदैन, दिन बिताउन र धर्मबारेमा ज्ञान लिन सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

दाहाल जस्तै रामचन्द्र पन्थ पनि मोहरियाटारबाट करिब आधा घण्टा बाटो हिँडेरै ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुग्नुहुन्छ । दैनिक हिँडेर जानेआउने गर्दा शरीरलाई कसरत पनि भइरहेको उहाँको भनाइ छ । जीवनमा धेरै दुःख कष्ट गरेर सम्पत्ति जमाइयो, अब आराम गर्ने समय हो”, उहाँले भन्नुभयो, “घरपरिवारबाट पनि सकारात्मक सहयोग र सदभाव प्राप्त भएको छ ।”

वडाका विभिन्न टोल बस्तीबाट दिवा सेवा केन्द्रमा दिनमा ३५÷४० जनासम्म ज्येष्ठ नागरिक जमघट हुने गर्दछन् । आफूले विगतमा गरेका दुःख सुखका गफगाफका साथै केन्द्रमा भजनकीर्तन र धार्मिक प्रवचन गरेर मनलाई हलुका बनाउने काम भइरहेको केन्द्रका अध्यक्ष गणेश जिसीले बताउनुभयो ।“धर्मकर्म गर्ने वातावरण सिर्जना गर्दै जीवनशैली सुधारतर्फ ज्येष्ठ नागरिक लाग्ने गरेका छन्”, उहाँले भन्नुभयो, “केन्द्रमा सिकेको धार्मिक ज्ञान गुनका कुरा आफ्ना परिवारमा सिकाउने गरेको छु ।” सुरुमा सोही वडाको चारकुनेको चौतारो नजिक खरले छाएको अस्थायी टहरामा ज्येष्ठ नागरिक बस्ने गरेपनि अहिले सोही स्थान नजिकै आफ्नै पक्की भवन निर्माण गरिएको छ ।

पक्की भवन नहुँदा हावाहुरी, पानी पर्दाको समयमा धेरै कठिनाइ भोग्नुपरेको स्मरण गर्दै तीन वर्षको अवधिमा पक्की भवन निर्माण गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारबाट पटक–पटक गरी रु २१ लाख, वडा कार्यालयबाट रु एक लाख ५० हजार र व्यास नगरपालिकाबाट रु ७५ हजार सहयोग प्राप्त भएको थियो ।उक्त बजेटबाट करिब तीन आना सार्वजनिक जग्गामा दुई ढलानको भवन निर्माण गरिएको केन्द्रका सचिव रामकृष्ण सापकोटाले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकका लागि दिवाको समयमा चिया खाजाका लागि गतवर्ष सङ्घीय सरकारबाट रु दुई लाख र गण्डकी प्रदेश सरकारबाट रु पचासी हजार बजेट निकासा गरी सहयोग गरेको उहाँले बताउनुभयो ।

दिवा खाजाका लागि बजेट सहयोग गरिदिन व्यास नगरपालिका कार्यालयमा निवेदन पेश गरिएको र सकारात्मक रुपमा लिइएकाले सहयोग पाउने आशामा रहेको केन्द्रका कोषाध्यक्ष रामदत्त तिवारीले जानकारी दिनुभयो । उक्त दिवा सेवा केन्द्रमा चिया पकाएर बिस्कुट लगायतका खाजा खानुका साथै आएका पाहुनालाईसमेत स्वागत गर्ने चलन छ ।   रासस