२०८१ बैशाख २२ , शनिवार

राष्ट्रपतिलाई बुझाइयो राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन, राष्ट्रपतिसँग प्रमुख निर्वाचन आयुक्तले राखेका असन्तुष्टि

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् ।११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने क्रममा थपलियाले मौन अवधिमा गरिएको चियापानप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेता शेखरले १० माघमा विराटनगरस्थित आफ्नो निवासमा चियापान आयोजना गरेका थिए । उक्त चियापानमा गठबन्धनका नेता–कार्यकर्ता कोइराला निवास पुगेका थिए । शेखरले चियापान गरेकै दिन अर्को स्थानमा एमाले–राप्रपाका नेताहरु पनि चियापानका लागि विराटनगरमा जुटेका थिए ।राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले ९ माघदेखि मौन अवधि तोके पनि दलहरुले त्यसको पालना नगरेकोमा प्रमुख निर्वाचन आयुक्त थपलियाको गुनासो थियो ।

आयोग स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनमा कतिपय जनप्रतिनिधिले मताधिकारको प्रयोग नगरेकोमा पनि थपलियाले गुनासो गरेका थिए ।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेका थिएनन् ।

त्यसप्रति असन्तुष्टि जनाउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपतिसँग भनेका छन्, ‘आफू निर्वाचित हुनका लागि अर्काको मत खोज्ने तर आफूले अरूलाई मतदान गर्न सहभागी नहुने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुन्छ।’
निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने क्रममा प्रमुख आयुक्त थपलियाले मत बदर हुनु दुर्भाग्य भएको पनि बताएका थिए । कोशी प्रदेशमा मत बदर भएको थियो ।