२०८१ जेठ ६ , आइतवार

सोमालियाली समुद्री डाकुद्वारा डुङ्गा अपहरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सन्दिग्ध सोमालियाली समुद्री डाकुहरूले हिन्द महासागरमा डुङ्गामा सवार चालक दलका छ सदस्यसहित डुङ्गालाई अपहरण गरेको कोलम्बोको नौसेनाले आइतबार जनाएको छ ।श्रीलङ्काली नौसेनाका प्रवक्ता गायन विक्रमासूरियाले लोरेन्जो पुथा–४ लाई सोमालियाली राजधानी मोगादिसुबाट करिब ८४० नटिकल माइल दक्षिणपूर्वमा शनिबार नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

यमनको इरान समर्थित हुथी विद्रोहीसमूहले प्यालेस्टाइनी लडाकू समूह हमासविरुद्ध इजरायलले गरेको युद्धको प्रतिक्रियास्वरूप रेड सी र एडेनको खाडीमा इजरायलसम्बद्ध जहाजहरूलाई लक्षित गरी सयौं आक्रमणहरू गरेका छन् ।सन् २०१७ को डिसेम्बरमा सोमाली समुद्री डकैतीको पहिलो सफल घटना रेकर्ड भएपछि अन्तर्राष्ट्रिय नौसैनिक बललाई एडेनको खाडीबाट उत्तरतर्फ रेड सीमा डाइभर्ट गरिएको छ ।

“श्रीलङ्काले संयुक्त समुद्री सेनालाई सचेत गराएको छ,” विक्रमासूरियाले अन्तर्राष्ट्रिय समुद्री डकैती विरोधी गठबन्धनलाई सङ्केत गर्दै एएफपीलाई बताउनुभयो ।उहाँका अनुसार छिमेकी मुलुक भारतको नौसेनाले अनुसन्धानका लागि युद्धपोत पठाइसकेको छ भने श्रीलङ्काको नौसेनाले पनि उक्त क्षेत्रमा तैनाथ गर्नका लागि युद्धक जहाज तयार गरिरहेको छ ।

सन् २०११ मा सोमालियाली तटमा समुद्री डाकूहरूको आक्रमण चरम बिन्दुमा पुगेको थियो र बन्दुकधारीहरूले हिन्द महासागरको सोमाली तटबाट तीन हजार ६५५ किलोमिटर (दुई हजार २७० माइल) टाढासम्म आक्रमण गरेका थिए ।रासस//एएफपी