२०८१ बैशाख २० , बिहिवार

पर्यटन सम्भ्यावताको अध्ययन हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चुरे पर्वत श्रेणीका शृङ्खला वरपर पर्यटकीय गन्तव्य पहिल्याउन सम्भाव्यताको खोजी हुने भएको छ । महोत्तरी जिल्लाको चुरे पर्वत श्रेणीका धार्मिक, ऐतिहासिक र वन्य पशुपक्षी बासस्थानका पर्यटकीय सम्भावनाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो बढाएको हो । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा पर्ने चुरे पर्वत श्रेणीमा पर्यटकीय सम्भावनाबारे बर्दिबास उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तत्काल विज्ञको टोलीबाट सम्भाव्यता अध्ययन हुने जनाउनुभएको छ ।

सङ्घले गत साता चुरेक्षेत्रमा पर्यटकीय सम्भावनाको खोजी गर्दै थालेको पदयात्राको पहिलो चरणको प्रतिवेदन बुझाएपछि मन्त्री किरातीले सम्भावित गन्तव्यबारे अध्ययन गर्न एक साताभित्रै विज्ञटोली पुग्ने प्रतिबद्धता बिहीबार जनाउनुभएको छ । “हामीले पर्यटन गन्तव्य पहिल्याउन थालिएको पदयात्राको पहिलो चरणको प्रतिवेदन मन्त्रीजीलाई बुझायौँ,” सङ्घका अध्यक्ष विष्णु खड्काले भन्नुभयो, “उहाँले सम्भाव्यता अध्ययन गर्न तत्काल विज्ञटोली खटाउने बताउनुभयो ।”

सङ्घका पदाधिकारी, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले मन्त्री किरातीलाई बिहीबार मन्त्रालयमा भेटेर पदयात्राले पहिल्याएका सम्भावनाबारे प्रतिवेदन बुझाएपछि मन्त्री किरातीबाट राम्रो वास्ता पाएको टोलीका सदस्य नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले जानकारी दिनुभयो ।

बर्दिबास उद्योग वाणिज्य सङ्घले स्थानीय समृद्धिको आधार पहिल्याउन पर्यटन मुख्य आधार हुनसक्ने हुँदा त्यस्ता ठाउँ पहिल्याउन चुरे क्षेत्रको पदयात्रा थालेको छ । गत साता गरिएको पहिलो चरणको पदयात्रामा भेटिएका गिद्धबास, सिद्धगुफा र पाषाणकालीन हतियार कारखाना क्षेत्र र राईमण्डल धार्मिकक्षेत्र यहाँका पर्यटकीय गन्तव्य हुनसक्ने पदयात्रीको ठहर मन्त्रीलाई प्रतिवेदनका रुपमा बुझाइएको हो ।

चुरे पर्वत श्रेणीमा लोपोन्मुख पक्षी गिद्धको बासस्थान, तपस्यारत लामाको सिद्धगुफा, पाषाणकालीन हतियार कारखानाका अवशेष क्षेत्र, परेवापाखा र धार्मिकक्षेत्र राईमण्डलबारे पर्यटकीय सम्भावनाको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले विज्ञटोली नै पठाउने निर्णय भएपछि पदयात्रीमा हौसला बढेको छ ।

अबको दोस्रो चरणको पदयात्रामा जिल्लामा पर्ने चुरे पर्वत श्रेणीका पर्यटनका लागि सम्भावित बढीभन्दा बढी ठाउँको अवलोकन गर्नेगरी तालिका बनेको आयोजक संस्था बर्दिबास उद्योग वाणिज्य सङ्घले जनाएको छ । “यस क्रममा प्रसिद्ध धार्मिकस्थल पञ्चधुरा माईस्थान, टुटेश्वरनाथ महादेव मन्दिर, चुरे पर्वत श्रेणीकै सबभन्दा अग्लो मानिएको चनौटेडाँडा, चुरेकाछका बस्ती, यहाँका नदीनाला र जलाधारक्षेत्रसहितका रमणीयस्थल पनि हामी पुग्छौँ,” सङ्घका अध्यक्ष खड्का भन्नुहुन्छ, “पदयात्राको पहिलो चरणको प्रतिवेदनबारे मन्त्री किरातीले देखाउनुभएको सकारात्मक चासोले हामीलाई हौस्याएको छ, यो काममा तीनै तहका सरकारको सहयोग, सद्भाव प्राप्त हुने विश्वास छ ।”

पदयात्राका क्रममा चुरेकाछका बस्तीको रहनसहन, व्यवसाय र सांस्कृतिक परम्परा, वेशभूषा र अन्य पक्षबारे पनि अवलोकनको अवसर पाइएको पदयात्रीको भनाइ छ । अब विज्ञटोलीको अध्ययनले थप सम्भावना पहिल्याउन सहयोग, हौसला प्राप्त हुने पदयात्रा र मन्त्रीसँगको भेटमा समेत सहभागी सञ्चारकर्मी विशाल बस्नेत बताउनुहुन्छ । महोत्तरीमा चुरे खाँेच करिब ३० किलोमिटर पूर्वपश्चिम लम्बाइमा रहेको छ ।  रासस