२०८१ बैशाख २४ , सोमवार

हिरासतबाट थुनुवालाई भगाउने प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।
लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान विरवल राय यादव १६ वर्षपछि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई २०६४ सालमा भगाएर आफू पनि भागेका यादव यही माघ ११ गते पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट पक्राउ परेको हो ।

उनलाई काठमाडौं ल्याएर माघ १२ गते आवश्यक कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

रौतहटको पथरावुधराम–३ घर भई सोही कार्यालयको हिरासत कक्षमा कार्यरत प्रहरी जवान यादवले नक्कली चिट आफैं बनाई आफैंले फिल्ड अधिकृत (इन्सपेक्टर)को किर्ते दस्तखत समेत गरी इन्सपेक्टर साबले बोलाउनु भएको छ भनी हिरासत कक्षबाट हतकडी सहित बाहिर निकालेर भगाएका थिए ।प्रहरी निरीक्षकको किर्ते दस्तखत गरी प्रहरी जवान यादवले आलमलाई हिरासतबाट निकाली कालिमाटी–कलंकी–बुटवल हुँदै भारतको रक्सौल पुर्याएका थिए ।

त्यसवाफत उनले तत्कालीन समयमा ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।