२०८१ जेठ ६ , आइतवार

विद्यालयमा किशोरीहरुको पहुँच सुनिश्चित गर्न तालिवान समूहसँग अन्तर्राष्ट्रिय सङ्घसंस्थाको आग्रह

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।
अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानी किशोरीहरूको शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । अफगानिस्तानमा दुई वर्षभन्दा बढी समयदेखि किशोरीाहरूलार्ई शिक्षाको पहुँचमा प्रतिबन्ध लगाइएको टोलो न्यूजले जनाएको छ ।विश्वले जनवरी २४ मा अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाउँदै गर्दा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले बालिकाहरूका लागि विद्यालयहरू खोल्न आग्रह गरेका हुन् ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रका विशेष दूत रोजा ओटुनबायेभा, एम्नेस्टी इन्टरनेसनल, शरणार्थीका लागि संयुक्त राष्ट्र उच्चायुक्त, विश्व खाद्य कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय समूहहरूले तालिबान समूहलाई किशोरीाहरूको शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् ।

रोजा ओटुनबायेभाले सामाजिक सञ्जाल एक्समा युएनएएमए न्यूजले जारी गरेको भिडियोमा सबैलाई शिक्षा प्रदान गर्नु नै अफगानिस्तानको भविष्यको आधार भएको कुरामा जोड दिनुभयो ।अफगानिस्तानमा, सबैका लागि शिक्षा मौलिक अधिकार मात्र नभई अफगानिस्तानको भविष्यको आधार भएको उहाँले बताउनुभयो ।

टोलो न्यूजका अनुसार अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवरसमा विद्यालयहरू खोल्न पश्चिमी राष्ट्रहरूको मात्र नभई मुस्लिम समुदायको पनि माग रहेको ओटुनबायेभाले बताउनुभएको छ ।उहाँले शिक्षा केवल नैतिक अनिवार्य मात्र नभई समृद्धि र शान्तिका लागि महत्वपूर्ण छ भनेर चिन्नसमेत तालिबानसँग आग्रह गर्नुभयो ।

वर्तमान मार्गलाई कायम राख्दा अफगानहरूलाई थप हानि पुग्ने तथा अफगानिस्तानलाई इस्लामिक विश्व र अन्तर्राष्ट्रिय समुदाय दुवैबाट अलग्गै राख्ने जोखिम बढ्ने उहाँले बताउनुभयो ।एम्नेस्टी इन्टरनेसनलले बिहीबार जारी विज्ञप्तिमा अफगान सरकारलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्न र महिलाहरूलाई काम गर्न अनुमति दिन आग्रह गरेको छ ।

सबै विद्यालय तथा विश्वविद्यालयहरू तुरुन्तै पुन ः खोलेर, स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गरेर महिलाहरूलाई काममा फर्कन अनुमति दिदै महिला र सबै उमेरका केटीहरूको शिक्षामा पहुँचसहित उनीहरूको पूर्ण अधिकार प्रदान गर्न, सङ्गठनले सुझाएको छ ।महिला अधिकार कार्यकर्ता तफसिर सेयापोसले इस्लामको पवित्र धर्ममा हरेक दिन शिक्षाको दिन हो, दुर्भाग्यवश, आज अन्तर्राष्ट्रिय शिक्षा दिवसमा विद्यालय र विश्वविद्यालयहरू बन्द रहेको बताउनुभयो । उहाँले आफुहरू इस्लामिक सरकारले सकेसम्म चाँडो बिशोरीहको शिक्षाको सुनिश्चितता गर्ने विषयमा आशावादी रहेको बताउनुभएको छ ।

तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले छैटौँ कक्षाभन्दा माथिका बालिकाहरूको शिक्षामा कुनै विषय उठान गर्नु भएन । यद्यपि, उहाँले शिक्षाको व्यवस्था वर्तमान सरकारको प्राथमिकतामध्ये एक रहेको बताउनुभएको छ ।मुजाहिदले शिक्षा धेरै आवश्यकतामध्ये एक भएको बताउदै इस्लामिक इमिरेट्सले शिक्षालाई प्राथमिकता दिएको र बजेटलाई शिक्षा क्षेत्रमा बढी केन्द्रित गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

अफगानिस्तानमा छैटौँ कक्षाभन्दा माथिका केटीहरूलाई विद्यालय जान नदिई ८०० दिन बितिसकेको छ । लगभग चार सय दिन विश्वविद्यालयहरू महिला विद्यार्थीहरूका लागि बन्द गरिएका छन् ।  रासस/एएनआई