२०८१ बैशाख २४ , सोमवार

महानगरका ‘बर्थिङ सेन्टर’बाट एक सय २६ जनाले लिए सेवा

chit

सुनाखरी न्युज/ काठमाडौं ।
चितवनको भरतपुर महानगरपालिकाभित्रका ‘बर्थिङ सेन्टर’बाट यो आर्थिक वर्षमा एक सय २६ जनाले प्रसूति सेवा लिएका छन । महानगरका पाँच स्वास्थ्य संस्थामा रहेका बर्थिङ सेन्टरबाट पुस मसान्तसम्म एक सय २६ जनाले सेवा लिएका हुन् ।

मेघौली स्वास्थ्य चौकीबाट ४५, जगतपुर स्वास्थ्य चौकीबाट २३, गुन्जनगर स्वास्थ्य चौकीबाट ३४, शारदानगर स्वास्थ्य चौकीबाट १६ र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट आठ जना महिलाले प्रसूति सेवा लिएका छन । गत वर्ष यी स्वास्थ्य संस्थाबाट दुई सय २४ जनाले प्रसूति सेवा लिएका थिए ।

महानगरका सबै स्वास्थ्य संस्थामा सुत्केरी गराउन तालिमप्राप्त स्वास्थ्यकर्मी राखिएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले बताउनुभयो । स्वास्थ्य संस्थामा चौबीसै घण्टा सेवा उपलब्ध रहेको भन्दै उहाँले महानगरले प्रसूति सेवा लिन आउनेलाई एम्बुलेन्स खर्चको समेत व्यवस्था गरेको जानकारी दिनुभयो । “रु दुई हजारसम्म एम्बुलेन्स खर्च उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “जन्मदर्ता प्रमाणित गरेपछि वडाबाटै रकम प्राप्त गर्न सकिन्छ ।” यसबाहेक सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको आठपटक स्वास्थ्य संस्थामा गर्भजाँच गराएको आठ सय र सुत्केरी गराएबापतको रु दुई हजार पनि उपलब्ध गराउँदै आएको भट्टले बताउनुभयो ।

सुत्केरी भएपछि पनि स्वास्थ्य संस्थाबाट तीन दिन, सात दिन र छ हप्तामा स्वास्थ्यकर्मीले घरमै पुगेर सेवा प्रदान गर्ने गरेका छन् । गुञ्जनगरबाहेक सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने महिलाका लागि निःशुल्क प्रयोगशालाको व्यवस्था गरिएको अधिकृत भट्टले राससलाई बताउनुभयो ।

मेघौली स्वास्थ्य चौकीकी स्वास्थ्य स्वयम्सेविका बिष्णुमाया राना थापाले गरिब विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारबाट प्रसूति सेवा लिनका लागि आउने गरेको बताउनुभयो । पछिल्लो समय शल्यक्रिया गरेर प्रसूति हुने दर बढेका कारण पनि बर्थिङ सेन्टरबाट सेवा लिने घटेको बताउनुभयो ।

सामान्य अवस्थामा भरतपुर अस्पताल जानु नपर्ने भन्दै स्थानीयस्तरबाटै सेवा लिन नागरिकलाई सचेत गराउनुपर्ने उहाँको भनाइ छ । मेघौली स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट प्रसूति सेवा लिनुभएकी भरतपुर–२८ की कमली कुमालले यहाँ राम्रो सेवा पाएको बताउनुभयो । उहाँले आफूले यहाँ नै नियमित गर्भजाँच गराएको भन्दै रातको समयमा पनि स्थानीय स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गरेपछि खुसी लागेको बताउनुभयो ।  रासस