२०८१ बैशाख २० , बिहिवार

मेलम्ची–ज्यामिरे–गुफाडाँडा पर्यटन मार्ग स्तरोन्नति गरिने

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।

मेलम्ची–ज्यामिरे–गुफाडाँडा–पर्यटन मार्ग स्तरोन्नति गरिने भएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्गअन्तर्गत मेलम्ची–१० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गर्नुभएको हो ।

मेलम्ची नगरपालिकाको रु दुई करोड ५९ लाखको लागतमा गेहेन्द्रलक्ष्मी निमार्ण सेवा तथा जुगल हिमशिखर जेभीले सडक कालोपत्र, ढलान लगायतको काम गर्न लागेको हो । शिलान्यास कार्यक्रममा वडा नं ९ र १० का वडाध्यक्ष किरणदीप खड्का र अमृत खनाल तथा वडा नं १० का पूर्ववडाध्यक्ष भक्तबहादुर खड्का लगायतको सहभागिता थियो ।

जलवायु सम्मेलन भएको पर्यटकीय क्षेत्र गुफाडाँडा जोड्ने सडकमा सङ्घीय सरकारको ध्यान नपुगेपछि नगरपालिकाको बजेटबाट सडक स्तरोन्नतिको काम गर्न लागेको नगरप्रमुख तामाङले बताउनुभयो । उहाँले सङ्घ तथा प्रदेश सरकारले मेलम्चीको विकासमा ध्यान नदिएको भन्दै चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न सङ्घ तथा प्रदेश सरकारका प्रतिनिधिलाई आग्रह गर्नुभयो । सडक निर्माणका क्रममा गुणस्तर र परिमाणमा ध्यान दिन तामाङले निर्माण व्यवसायीलाई निर्देशनसमेत दिनुभयो । वडा नं ९ का अध्यक्ष खड्काले क्रमशः गुफाडाँडासम्म सडक कालोपत्र तथा ढलान गरिने बताउनुभयो ।

भोताङका ४० किसानलाई प्राङ्गारिक प्रमाणीकरण चिह्न तथा प्रमाणपत्र वितरण

पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका किसानलाई प्राङ्गारिक प्रमाणीकरण चिह्न तथा प्रमाणपत्र वितरण गरिएको छ ।

गाउँपालिकाको कृषि विकास शाखाको सहयोगमा सेच्र्यु बरलो साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली (पिजिएस) अन्तर्गत मङ्गलबार प्राङगारिक प्रमाणीकरण चिह्न तथा प्रमाणपत्र वितरण गरिएको कृषि शाखाप्रमुख निमराज गिरीले जानकारी दिनुभयो ।

यहाँ मुख्यतः आलु, मूला, कोदोलगायत खाद्यान्न र तरकारी उत्पादन हुने गर्दछ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले जैविक प्रमाणीकरणले गाउँपालिकालाई चिनाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले प्लास्टिकमुक्त पालिका बनाउनसमेत यस्ता कार्यक्रमले फाइदा पुग्ने बताउनुभयो । उहाँले वैकल्पिक झोला प्रयोगमा ल्याइसकेको जनाउँदै प्लास्टिक प्रयोगमा रोक लगाउने जानकारी दिनुभयो ।

लामाले पालिकामा करिब १० प्रतिशतमात्र जग्गा बाँझो रहेको जनाउँदै अहिले निरन्तर किसान कृषि पेसामा सक्रिय हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो । लामाले पाँचपोखरी अब आत्मनिर्भरको बाटोमा अगाडि बढेको जानकारी दिँदै पालिकामा अब आयातभन्दा निर्यातलाई जोड दिइने बताउनुभयो । अध्यक्ष लामाले अब प्रवेशद्वार खाल्डे सूचना केन्द्रमा कोसेली घर निर्माण गरी उत्पादन गरेका राम्रा वस्तुलाई त्यहाँ राख्ने बताउनुभयो ।

वडाध्यक्ष ङिमाछिरिङ तामाङले स्थानीय रुपमा उत्पादन भएको वस्तु अब देशव्यापी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले किसान धनी हुनपर्ने भन्दै निरन्तर काममा लाग्न आग्रह गर्नुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा यहाँको उत्पादन पुर्याउन सम्भावना भएको उललेख गर्दै अहिले निरन्तरता दिँदै हरियो प्रमाणीकरण गर्ने दिन छिट्टै आउने बताउनुभयो ।

प्रशिक्षक कपिल प्रजापतिले एक वर्षभित्रमा पाएको उपलब्धिले खुसी लागेको बताउनुभयो । उहाँले केही अप्ठ्यारो भए पनि निरन्तरता दिनुभएकामा किसानलाई धन्यवाद दिनुभयो किसानका तर्फबाट आफ्नो भनाइ राख्दै भोताङका किसान सुमेश तामाङ्ले पहिला जैविक के हो र रासायनिक के हो भन्ने नै थाहा नभए पनि अहिले जैविक उत्पादन गर्न सक्ने भएको बताउनुभयो ।

उहाँले आलु र कोदो व्यापक उत्पादन भए पनि बजार नभएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले वन्यजन्तुले समेत अहिले दुःख दिन थालेको भन्दै त्यसको व्यवस्थापन र कृषि बीमाको कार्यक्रम अगाडि बढाउन गाउँपालिकाको ध्यानाकर्षण गराउनुभयो ।

सेच्र्यु बरलो साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रचना बोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका तर्फबाट कान्छालाल तामाङले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमको अवसरमा ४० किसानलाई जैविक प्रमाणीकरण प्रमाणपत्र प्रदान गरिनाका साथै सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा आर्सो नेपालले उपलब्ध गराएको टनेल किसानलाई वितरण गरिएको थियो ।  रासस