२०८१ बैशाख २१ , शुक्रवार

‘स्वास्थ्य बीमाको पहुँच बढाउन आवश्यक’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य बीमाको पहुँच बढाउन आवश्यक रहेको बताउनुभएको छ । आज हेटौँडामा आयोजित स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेशस्तरीय समीक्षा गोष्ठीमा बीमाको पहुँच बढाउँदै बीमितको उपचार तत्काल गर्ने गरी व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो ।

बीमा गरेका नागरिकलाई सबै प्रकारका उपचार सेवा र औषधी सहज रुपमा निःशुल्क उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो । उहाँले सबै पक्षको सकारात्मक पहलबाट स्वास्थ्य बीमा कार्यान्वयन प्रभावकारी हुने बताउनुभयो ।

बीमाको प्रथम सेवा विन्दु नगर अस्पताल बनाएर अघि बढ्दा कार्यक्रम थप प्रभावकारी हुने भएकाले त्यसतर्फ प्रदेश सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । बीमामार्फत प्राप्त हुने औषधीको गुणस्तर कायम गर्ने र सहज रुपमा औषधी पाउने व्यवस्था बनाउन आवश्यक रहेको मन्त्री जोशीको भनाइ थियो ।

तीन वटै तहका स्वास्थ्यसम्बन्धी संरचना र स्वास्थ्य चौकीसँग जोडिएर काम गर्दा उपयुक्त हुने र बीमालाई नागरिकसँग जोड्ने काममा सहजता प्रदान गर्न स्वास्थ्य कार्यालयसँग मिलेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले देशभरमा ७५ लाख नागरिक बीमामा आबद्ध रहेको बताउँदै बोर्डको उद्देश्य प्राप्तिका लागि प्रदेश र स्थानीय तहका संरचनाहरु पनि तयार गरिएको बताउनुभयो ।रासस