२०८१ जेठ ५ , शनिवार

हेमजाका राष्ट्रिय प्रतिभा सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
शिक्षासेवी टीकाराम बास्तोलाको स्मृतिमा हेमजाका राष्ट्रिय प्रतिभा सम्मानित भएका छन् । यसरी सम्मानित हुनेमा भाषासेवी मुकुन्दशरण उपाध्याय, प्यारासुट जम्प गर्ने पहिलो साहसी महिला अन्नपूर्णा कुँवर, हेमजाका व्यावसायिक कृषक शोभाकर तिम्सिना, साहित्यसेवी कृष्ण उदासी, र मानवसेवा आश्रम पोखरा–२५ रहेका छन् । उनीहरूलाई १२ हजार एकसय पाँच नगद राशिसहित सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रवक्ता मोतिराज तिमिल्सिना, टीकाराम बास्तोला स्मृति कोषका संस्थापकद्वय डा. दिनेश बास्तोला, ई. रमेश बास्तोला र संस्थाका अध्यक्ष बलराम पौडेलले संयुक्त रूपमा सम्मान अर्पण गरे ।महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले टीकाराम बास्तोलालाई आफ्नो गुरु भन्न पाउँदा गौरवबोध हुने गरेको स्मरण गरे । उनले बास्तोलाले शिक्षा, साहित्य र समाजसेवाका क्षेत्रमा देखाएको बाटो हिँड्न सके नै उहाँप्रति सच्चा सम्मान हुने बताए ।

सम्मानित प्रतिभा मुकुन्दशरण उपाध्यायले टीकाराम बास्तोलाले आफ्नो उर्जाशील जीवनमा बालेको सत्कर्मको ज्योति आज जाज्वल्यमान भएर बलेको धारणा राखे ।अन्नपूर्णा कुँवरले आफूलाई विद्यामन्दिर भित्रको सिकारु पुजारीका रूपमा चिनाइन् । उनले टीकाराम बास्तोला, मुकुन्दशरणलगायतका गुरुहरूबाट हाम्रा मौलिक संस्कार, संस्कृति र भाषा सिक्न पाउनु आफ्ना लागि सौभाग्य रहेको बताइन् ।

सोही समारोह बीच उनले प्रतिष्ठानको कोष स्तरोन्नतिका लागि प्राप्त पुरस्कारमा ५ हजार थपसहित अध्यक्षलाई अर्पण गरिन् ।टीकाराम बास्तोला स्मृति कोषका संस्थापक डा. दिनेश बास्तोलाले आफू आजका दिनमा यो अवस्थामा रहनका लागि हेमजाले नै सिकाएकाले जन्मभूमिको सेवककारूपमा आफूले सक्दासम्म यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । साथै उनले प्रतिष्ठानको अक्षयकोषका लागि हरेक वर्ष प्रदान गर्दै आएको १६ हजार ५ सय नगदसमेत हस्तान्तरण गरे ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले टीकाराम बास्तोलाका आयाम र अध्यायको सम्मानमा जनस्तरबाट जसरी कार्य भएको छ अब हरेक तहका सरकारले योगदान र क्षमताका आधारमा आफ्ना क्षेत्रका प्रतिभाको संरक्षण र पहिचानमा लाग्न आवश्यक रहेको बताए ।सम्मानित प्रतिभाको चिनारी राख्दै प्रतिभा छनौट समितिका संयोजक कृष्णप्रसाद पौडेलले यसपटक फरक–फरक विधामा राष्ट्रिय ख्यातिप्राप्त प्रतिभालाई एउटै मञ्चमा सम्मानित गरिएको जानकारी दिए । पौडेलको संयोजकत्वमा संस्थाका संस्थापक सचिव कोविदशरण उपाध्याय र उपाध्यक्ष सुनिल गायक रहेको तीन सदस्यीय समितिले उक्त प्रतिभाको नाम सिफारिस गरेको थियो ।

शिक्षासेवी माधवशरण पौडेलले टीकाराम बास्तोलाको चिनारी प्रस्तुत गर्दै शिक्षा, साहित्य र समाजसेवाका त्रिवेणीकारूपमा चिनाए ।कार्यक्रममा निवृत्त शिक्षक समाजका अध्यक्ष कृष्णबहादुर कुँवर, सम्मरबहादुर गायक, लालबहादुर गायक र सारंगी पाठशालाका भाइबहिनीले गीतसमेत प्रस्तुत गरेका थिए ।कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रमा त्रिपाठीले टीकाराम बास्तोलाले गाउँका छोरीचेली र बुहारीले अध्ययन गर्न पाउनु भन्ने धारणाले हेमजामा क्याम्पस स्थापना गरेको स्मरण गरिन् ।

संस्थाका अध्यक्ष बलराम पौडेलले हरेक वर्ष माघ ८ गतेका दिन टीकाराम बास्तोलाको स्मृति दिवसमा प्रतिष्ठानले विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए । सभामा सहसचिव गंगा त्रिपाठी र कोषाध्यक्ष रिता कार्की कुँवरले बास्तोलाका विविध आयामबारे प्रष्ट पारेका थिए ।