
सुनाखरी न्युज/ काठमाडौं ।
अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका बुधबारदेखि चाहिने कागजातका विवरण सार्वजनिक गरेको छ। आफ्नो वेबसाइटमार्फत् मंगलबार विभागले यात्रा परामर्श जारी गर्दै ६ बुँदमा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको हो।
भिजिट भिसामा जाने भन्दै विदेशमा गएर समयमै नफर्किई अवैध रूपमा काम गर्ने भेटिएको भन्दै अध्यागमन विभागले यसमा कडाइ गरेको हो।
भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने विभागले जनाएको छ। सम्बन्धित देशको भिसा वा अन-अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने पनि भनिएको छ।
यस्तै, भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने भएको छ।
भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्ने भएको हो।
कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सहटी भएको प्रमाण चाहिने पनि अध्यागमनले जनाएको छ।
युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वस्घोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने भनिएको छ।
अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने पनि भनेको छ।