२०८१ बैशाख २१ , शुक्रवार

ब्रह्माण्डीय महायज्ञको मौलोसहितको कलश यात्रा पोखरामा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा यही फागुन ९ देखि २२ गतेसम्म हुने ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा राखिने स्वर्णमय धान्य श्रीस्तम्भ (मौलो) र महायज्ञको सङ्कल्पका लागि देशका विभिन्न तीर्थबाट जल सङ्कलन गर्ने उद्देश्यसहित सुुरु गरिएको मौलोसहितको कलश यात्रा पोखरा आइपुुगेको छ ।

माघ ७ गते पञ्चकोटबाट सुरु गरिएको राष्ट्रव्यापी यात्रा देशका प्रमुख सहर एवम् तीर्थस्थलमा पुुगी त्यहाँको नगर परिक्रमा एवम् तीर्थ जल सङ्कलन गरी पुनः महायज्ञस्थलमा फर्कने कार्यक्रम रहेको महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुुभयो ।

सोमबार पोखरा आइपुुगेको कलशयात्रालाई विन्ध्यवासिनी मन्दिरलगायत विभिन्न स्थानमा स्वागत गरिएको र आज पोखराबाट तनहुँको व्यास हुँदै अन्यत्र जाने कार्यक्रम रहेको उहाँले बताउनुुभयो । धार्मिकरुपले पवित्र मुक्तिक्षेत्र, शालग्रामवाहिनी कालीगण्डकी किनारका साथै अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा महायज्ञ गर्न लागिएको हो ।

पञ्चकोट धाम स्थापनाको दशौँ वार्षिकोत्सव पारेर गर्न लागिएको महायज्ञले वैदिक परम्परा प्रवद्र्धन, आध्यात्मिक चेतना अभिवृद्धि, सनातन संस्कृति संरक्षणका साथै नेपालको धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदा संरक्षण गर्न र हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत तथा सच्चरित्रवान् नेपाली समाजको निर्माणका लागि नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापीरुपमा दिनका लागि जल संरक्षणको प्रतीकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलश निर्माणलाई पूर्णता दिने र यस यज्ञबाट बाँकी रहेको रकम पञ्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गरिने लक्ष्य लिइएको छ ।  रासस