
सुनाखरी न्युज/ काठमाडौं ।
पर्यटकीय महत्वको हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र बसोबासका लागि उपयुक्त छ । यहाँको वातावरण र प्राकृतिक सौन्दर्यले आकर्षित गर्ने भएकाले नासों गाउँपालिका–८ स्थित ताचै घरबास (होमस्टे)मा बस्ने पर्यटकका लागि उपयुक्त वातावरण बनेको हो ।
घरबास नजिकै रहेको थोङ्रोप्ली झरना पर्यटकका लागि आकर्षणको केन्द्र देखिएकाले यलाई प्रवद्र्धन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । यहाँबाट देखिने हिमाल, उच्च पहाडका दृश्य, ताल, झरना, मनाङीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका लागि पर्यटक मनाङ आउँछन् । धेरैजसो पर्यटक सिधै जिल्ला सदरमुकाम चामे भएर तिलिचो ताल जान थालेकाले यहाँको रमणीयस्थललाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता खडकिएको हो ।
जिल्लाको प्रवेशद्वार नजिकै रहेर पनि प्रचारप्रसारको अभावले यो थोङरोप्ली झरना ओझेलमा परेको स्थानीयवासी यज्ञ घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “यस स्थलको प्रचारप्रसार गरी देश विदेशसम्म पु¥याउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित सकिन्थ्यो । स्थानीयवासीसँगै पर्यटनसँग सम्बन्धित अन्य निकायको साथ र सहयोग आवश्यक छ ।”
मुलुकमा लोकतन्त्र र गणतन्त्र आयो केही परिवर्तनकास्वरूप पनि देखिए तर सरकार नै आर्थिकरूपले समृद्ध हुने महत्वपूर्ण पर्यटकीयस्थलप्रति कसैको ध्यान जान नसक्दा ओझेलमा परेकाले आफूहरूलाई चिन्तित गराएको त्यहाँका वडाध्यक्ष याद घलेको गुनासो थियो ।“ताचै गाउँको शिरमा रहेको सुन्दर झरनाबाट आठ वटा गाउँ देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “पर्यटन मन्त्रालयबाट केही बजेट लिएर संरचना र रेलिङ बनाउने कार्य भए पनि अझै बाटो पु¥याउने कार्य अधुरै छ ।”
यसलाई दृश्यावलोकनको केन्द्र बनाएर गाउँमा आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य अगाडि बढाइएको वडाध्यक्ष घलेले उल्लेख गर्नुभयो । प्रकृतिको भरपुर उपयोग गर्नेगरी पर्यटन प्रवद्र्धन गरी स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यले कार्य गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तल सुन्दर गाउँबस्ती छ यसको शिरमा रहेको यही झरना नै ताचैको पहिचान हो । होमस्टे पनि रहेको ताचैमा कसैको ध्यान नजानु दुःखद कुरा हो ।”
“पालिकाको बजेटले मात्र केही गर्न सकिँदैन । सङ्घीय तथा प्रदेश सरकार यस्ता महत्वपूर्ण विषयमा चुकेका छन् । पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनमा उनीहरू लाग्नुपर्छ भन्ने हाम्रो जोडदार माग पनि छ । यस क्षेत्रको विकास र विस्तार हुन सके यो पर्यटकीय गन्तव्य बन्नसक्छ । पर्यटकीय गन्तव्य बनाउन सकिए पालिकालाई मात्र होइन देशकै पनि आम्दानीको स्रोत बन्नेछ”, वडाध्यक्ष घलेले भन्नुभयो ।
हुन त अहिले बाह्य पर्यटक ठप्प जस्तै भए पनि आन्तरिक पर्यटकमा भने खासै कमी आएको छैन । अन्नपूर्ण पदमार्गमा सन् २०२३ मा २१ हजार दुई सय ४७ विदेशी पर्यटक भित्रिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार नौ सय ८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानी मनाङ शाखाले जनाएको छ ।
उक्त शाखाका इन्चार्ज भूपेन्द्र गुरुङले आन्तरिक पर्यटकको कुनै तथ्याङ्क नराखिएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकीय याममा बाह्यभन्दा आन्तरिक पर्यटक नै बढी आउँछन् । यिनै आन्तरिक पर्यटकमध्ये १० प्रतिशत मात्रैलाई पनि थोङरोप्ली झरना लैजान सके ताचैमा आय आर्जनको बाटो खुल्ने थियोे । रासस