२०८१ बैशाख २१ , शुक्रवार

राजस्व छुटको फाइदा उठाउँदै ६ महिनामा तीन गुणा बढ्यो ईभी आयात

ev

सुनाखरी न्युज/ काठमाडौं ।

राजस्व छुटको फाइदा उठाउँदै गत आर्थिक वर्ष (आव) को पहिलो ६ महिनाको दाँजोमा चालु आर्थिक वर्ष २०८०-८१ को सोही अवधिमा विद्युतीय सवारीसाधन (ईभी) आयात तीन गुणाले बढेको छ ।

गत आवभरि भित्रिएका ईभीको तुलनामा यो वर्ष पहिलो ६ महिनामै १ हजार १ सयभन्दा धेरै भित्रिएका छन् ।

 

गत आवभरिमा ४ हजार ५० युनिट ईभी भित्रिएको थियो । यो तीन पाङ्ग्रे ईभीबाहेक तथ्यांक हो । गत आव २०७९-८० पुस मसान्तसम्म १ हजार ७ सय ४९ युनिट ईभी आयात भएको थियो । चालु आव पुस मसान्तमा आइपुग्दा यो संख्या ५ हजार १ सय ७ भएको छ ।

 

 

नेपाललाई सुहाउँदा गाडीहरु आएको र ग्राहकहरुमा ईभीप्रति आत्मविश्वास पनि बढेकाले विद्युतीय सवारीको बिक्री बढेको बीवाईडीकी विक्रेता यमुना श्रेष्ठ बताउँछिन् ।

 

 

तथ्यांकअनुसार गत मंसिरसम्म ३ हजार ६ सय ३६ युनिट ईभी भित्रिएकोमा पुसमा मात्रै १ हजार ४ सय २१ भित्रियो । त्यसमध्ये १ हजार ३ सय २५ कार तथा बाँकी भ्यान छ ।

ईभी आयातमा साढे १३ अर्ब बाहिरियो

चालु आर्थिक वर्ष पहिलो ६ महिनामा ईभी आयातमा १३ अर्ब ४० करोड रुपैयाँ बाहिरिएको छ ।

उक्त अवधिमा मुलुकमा कुल ३६ अर्ब ३१ करोड रुपैयाँबराबरका सवारीसाधन आयात भएकोमा त्यसको ३७ प्रतिशत हिस्सा ईभीले ओगटेको छ ।

चालु आव सरकारले ईभीमा कर बढाए पनि आयात भने उत्साहप्रद देखिएको छ ।

खासगरी, यो वर्ष ईभीमा धेरै ‘भेराइटी’ थपिनुका साथै सस्तो मूल्यका पनि बजारमा उपलब्ध भएकाले यसको आयात बढेको विक्रेता बताउँछन् ।

नेपालमा टाटा, बीवाईडी, एमजी, हुन्डाइ, सिट्रोन, कियालगायत कम्पनीले ईभी बिक्री गर्दै आएका छन् । टाटा, बीवाईडी र एमजी नेपालमा ईभीका सबैभन्दा लोकप्रिय ब्रान्ड हुन् ।