२०८१ बैशाख ३१ , सोमवार

आलुखेतीमा डढुवा कीराको सङ्क्रमण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन् । हुस्सु र शीतलहरका कारण सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएका आलु बालीमा डढुवाको सङ्क्रमण बढेपछि किसान चिन्तित भएका हुन् ।जिल्लामा करिब १० देखि १५ प्रतिशतसम्म कीराले आलुखेती नष्ट गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्र इनरुवाले जनाएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले दुई बिघा १० कठ्ठामा आलुखेती लगाउनुभएको छ । उहाँले खेती सुरु गर्दा रू पाँच लाख ३४ हजार खर्च भएको बताउनुभयो । मेहताले आलुको बीउमा रू एक लाख ३० हजार, मल खाद्यमा रू दुई लाख ३४ हजार, मजदुरका लागि रू एक लाख १४ हजार र अन्य विविधमा रू ५६ हजार भएको जानकारी दिनुभयो । यसअघि आलुखेतीबाट मनग्य आम्दनी भए पनि यस पटक सोचे अनुसारको आम्दानी नहुने उहाँको भनाइ थियो ।

केही दिनयतादेखि बढेको चिसोका कारण आफूले लगाएको आलुमा रोगकिराको सङ्क्रमण देखिन थालेपछि अहिले मेहतासहित यहाँका अधिकांश किसान चिन्तित छन् । बिहान र बेलुकाको समयमा बाक्लो हुस्सो र चिसोका कारण आलु खेतीमा रोग लागेपछि खेती नष्ट हुन थालेको उहाँले बताउनुभयो ।

आलुको बिरुवा सुक्दै जानु, पात झर्ने लगायत समस्या देखिन थालेको मेहताले बताउनुभयो । चिसोबाट बचाउनका लागि औषधि छर्किएको भन्दै औषधिले प्रभावकारी काम गर्न नसकेको उहाँको भनाइ थियो । रोग लागेपछि चार सय किलो आलु उत्पादन घट्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा राजकिशोर उदाहरण मात्र हुनुहुन्छ । उहाँसहित जिल्लाको हरिनगरा, देवानगन्ज, रामनगर भुटहा, गौतमपुर, कप्तानगन्जलगायत क्षेत्रका किसान यतिबेला खेती नष्ट हुन थालेपछि निराश भएका छन् ।

श्रम तथा मजदुरीका साथै मल खाद्यको अभावका बीचमा किसानले आलुखेती गरेकामा लगानी गरेअनुसार प्रतिफल नआउने भएपछि किसान मर्कामा परेका भोक्राहा नरसिंह–७ का मङगल महतोले बताउनुभयो । इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको आलु बालीमा डढुवाको सङ्क्रमण बढेपछि लाखौँको लगानी खेर जाने भएको उहाँको भनाइ थियो ।

सर्वसाधारण किसानले ऋण काढेर लगाएको आलुखेती पुसको अन्तिम सातादेखि सुरु भएको शीतलहरका कारण डढुवा रोगको सङ्क्रमण बढेपछि नष्ट हुँदै गएको इनरुवा–९ बबियाका किसान सत्यनारायण यादवले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र इनरुवाले आलुखेती गर्ने किसानका लागि प्राविधिक सहयोगका साथै कार्यालयमा आएका किसानलाई निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आएको केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । जिल्लामा आलुखेतीमा पच्छौटे डडुवा र अगौटे डडुवा रोगको सङ्क्रमण देखिन थालेकाले आलु उत्पादनमा कमी आउने उहाँको भनाइ थियो । सुनसरीमा दुई हजार नौ सय ४३ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको कार्यालयले जनाएको छ ।

कृषि क्षेत्रका लागि विनियोजन गरिएको बजेटमार्फत स्थानीय तहले कृषिलाई प्रवर्द्धन गर्न र आलुका साथै विभिन्न खेतीमा लाग्ने रोको सङ्क्रमणबाट बालीलाई जोगाउन समयमै विषादीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।  रासस