२०८१ बैशाख २१ , शुक्रवार

हिमालयन रि इन्स्योरेन्सलाई भारतमा पनि पुनर्बीमा व्यवसाय गर्न बाटो खुला

Insurance

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको निजी क्षेत्रबाट स्थापित पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय लिन बाटो खुलेको छ । हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले मंगलबार स्वीकृति प्रदान गरेको हो ।

भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय पाउन बाटो खुलेको हो ।

 

‘स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हिमालयन रिइन्स्योरेन्सले भारतमा स्वीकृति पाएसँगै पुनर्बीमा व्यवसायलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ । केही साताअघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन प्रक्रिया पूरा गरी स्टक मार्केटमा कम्पनी सूचीकृत छ ।

 

स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग पनि आवश्यकताअनुसार हिमालयनले पुनर्बीमा ब्रोकरको रुपमा पनि सेवा लिनेदिने काम गर्दछ ।

विदेशबाट पुनर्बीमा व्यवसाय ल्याउन सक्ने तथा स्वदेशी बिमकहरुबाट समेत पुनर्बीमा कम्पनीलाई व्यवसाय सुनिश्चित गरिएको छ ।

नेपालका सबै बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गराउनुपर्ने बाध्यकारी व्यवस्था बीमा ऐनमा गरिएको छ । जीवन बीमा, मोटर, कृषि पशुपन्छी तथा जडिबुटी, हुलदंगा तथा

आतंकवादीजस्ता बीमा स्वदेशमै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ । स्वदेशी पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेका जोखिमको मात्रै विदेशी कम्पनीमा पुनर्बीमा गर्न पाउने व्यवस्था छ ।