२०८१ बैशाख २१ , शुक्रवार

संस्थागतरुपमै वन अतिक्रमण

Capture

सुनाखरी न्युज / काठमाडौं ।
जिल्लामा वन क्षेत्र अतिक्रमण संस्थागतरुपमा बढी हुने गरेको पाइएको छ । डिभिजन वन कार्यालय चितवनअन्तर्गत रहेको ५७ हजार छ सय ५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६८७ दशमलव ८३ हेक्टर क्षेत्रफल वन अतिक्रमणमा परेको हो ।

कार्यालयको तथ्याङ्कअनुसार ती क्षेत्रमा घर, मन्दिर, चर्च, विद्यालय लगायतका संरचना बनेका छन् । अतिक्रमित वन क्षेत्रमा ३८ वटा चर्च, ३० वटा मन्दिर, १७ वटा गुम्बा र २५ वटा विद्यालय रहेका छन् । यस्तै पाँच हजार १२ अर्ध पक्की घर, एक हजार सात सय २४ कच्ची घर र ६४७ पक्की घर निर्माण भएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार वन अतिक्रमण सबैभन्दा बढी कालिका सव डिभिजन वन कार्यालयको क्षेत्रमा भएको छ । सो क्षेत्रमा ३९९ दशमलव १६ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण भएको हो । जहाँ अर्ध पक्की घर छ सय ११, ६७ वटा पक्की घर, ३६ वटा कच्ची घर र दुई विद्यालय छन् । त्यसैगरी सबैभन्दा कम भरतपुर क्षेत्रमा अतिक्रमण भएको कार्यालयका सूचना अधिकारी खनालले बताउनुभयो ।

सवडिभजन वन कार्यालय भरतपुरअन्तर्गत ५६ दशमलव ६८ हेक्टर क्षेत्रफल अतिक्रमित भएको छ । सो क्षेत्रमा अर्ध पक्की घर एक हजार एक सय ५१, पक्की घर एक सय ५० कच्ची घर एक सय आठ वटा निर्माण भएका छन् । यस्तै दुईवटा मन्दिर, एउटा गुम्बा, दुईवटा विद्यालय निर्माण भएको तथ्याङ्कलाई उल्लेख गर्दै खनालले जानकारी दिनुभयो । जसमध्ये देवघाट क्षेत्रको धार्मिक वन १७ दशमलव ७९ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो । यस्तै भरतपुरको गणेशस्थान वन क्षेत्रमा १६ दशमलव ६१ हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ ।

खनालले भन्नुभयो, “जिल्लामा हाल व्यक्ति विशेषबाट वन क्षेत्रमा अतिक्रमणको समस्यामा कमी भए पनि तोकिएको मापदण्ड पूरा नगरी वन क्षेत्रमा विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरी संस्थागत अतिक्रमण बढ्दो छ ।” जिल्लामा विसं २०३० देखि २०७२ सम्म वन क्षेत्र अतिक्रमणमा परेको कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो । पुराना अतिक्रमण समाधानका लागि सरकारीस्तरबाटै विशेष योजना बनाएर अघि बढ्नुपर्ने बताउँदै उहाँले ती अतिक्रमित क्षेत्रमा थप अतिक्रमण हुन नदिने पक्षमा कार्यालय रहेको बताउनुभयो । नयाँ अतिक्रमण भएको क्षेत्रमा वन अतिक्रमण तथा रोकथाम रणनीति २०६८ अनुसार खाली गराउने प्रक्रियामा डिभिजन वन कार्यालय लागेको छ ।

जिल्लाको कूल भूभागमध्ये ६५ दशमलव ८५ प्रतिशत वन क्षेत्रले ढाकेको छ । कूल वन क्षेत्र एक लाख ४७ हजार चार सय ९० हेक्टरमध्ये चितवन राष्ट्रिय निकुञ्जले ७१ हजार एक सय पाँच हेक्टर र मध्यवर्ती क्षेत्रले १८ हजार सात सय ३५ हेक्टर ओगटेको छ । डिभिजन वन कार्यालयअन्तर्गत ५७ हजार छ सय ५० हेक्टर क्षेत्रफलमा रहेको ३९ प्रतिशत वन कार्यालयले हेर्ने गरेको छ ।  रासस