२०८१ जेठ ५ , शनिवार

बैठक, तालिम र गोष्ठी गर्न ‘होमस्टे’

Capture

सुनाखरी न्युज / काठमाडौं ।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा पर्वतका सातवटै पालिकाका न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम प्रशिद्ध पर्यटकीय गाउँ चित्रेमा सम्पन्न गरियो ।

जिल्लाका सातवटै पालिकाका गरी झण्डै ४० जना दुई दिनसम्म चित्रेको ‘होमस्टे’ घरबासमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किए । चित्रे गाउँ पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित पञ्चासे नजिकैको मोदी गाउँपालिका–८ मा पर्छ । दुई साताअघि पर्वत उद्योग वाणिज्य सङ्घले आफ्नो कार्यसमिति बैठक मोदी गाउँपालिका–१ भुकदेउरालीस्थित भुकदेउराली सामुदायिक घरबासमा सम्पन्न ग¥यो । सदरमुकामदेखि २६ किलोमिटर टाढा रहेको घरबासमा दुई दिन बसेर उद्योगी व्यवसायीहरु सदरमुकाम फर्किए । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको नियमित बैठक जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीस्थित लामतुन ग्रामीण पर्यटन घरबासमै सम्पन्न गरियो भने नेपाल निजामती कर्मचारी सङ्गठन पर्वत शाखाले पनि दुईदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम मोदी–१ कै भुकदेउराली र लप्सीबोट सामुदायिक होमस्टेमा सम्पन्न ग¥यो त्यसमा दुई सयभन्दा बढी सहभागी थिए ।

यसैगरी माओवादी केन्द्रले कार्यकर्ताका लागि स्कुलिङ कार्यक्रम जलजला गाउँपालिकाको पर्यटकीय गाउँ बनौँमा लगेर सम्पन्न ग¥यो । यी त केही संस्थाका उदाहरण मात्र हुन् । सदरमुकामको कोलाहलपूर्ण वातावरणभन्दा ग्रामीण क्षेत्रमा जान रुचाउनेको सङ्ख्या बढ्दै जान थालेपछि बजार क्षेत्रमा हुने कार्यक्रम घरबासकेन्द्रित गर्न थालिएको हो । यीबाहेक जिल्लामा क्रियाशील लायन्स, लियो, रोटरी, इनरह्वील र जेसिजजस्ता सामाजिक सङ्घसंस्थाले पनि ग्रामीण क्षेत्रका घरबासमै कार्यक्रम गर्न थालेका छन् ।

बजारमा कार्यक्रम गर्दा सहभागी एकत्रित नहुने, न्यास्रो मान्ने, छिनछिनमै निस्किने, लामो समय कार्यक्रममा सहभागी नहुनेजस्ता समस्या भएपछि सङ्घसंस्थाले आफ्ना महत्वपूर्ण तालिम, गोष्ठी, बैठक, भेला, प्रशिक्षणलाई गाउँकेन्द्रित गर्न थालेको देखिन्छ । गाउँमा गएपछि मनोरञ्जन हुने र कार्यक्रममा पूर्णरूपले सहभागिता जनाउने भएकाले सङ्घसंस्थाले कार्यक्रम गाउँ केन्द्रित गर्न थालेको होमस्टे व्यवसायीको भनाइ थियो ।

यस्ता कार्यक्रमले गर्दा विगत वर्षभन्दा यस वर्ष घरबासमा बढी चहलपहल देखिएको मोदी गाउँपालिका–१ का वडाध्यक्ष टेकबहादुर गुरुङले बताउनुभयो । जनजातिको बाहुल्यता रहेका पर्वतका घरबास सञ्चालित गाउँ सबैजसो मनमोहक छन् । बस्तीका सबै घरमा सुविधासम्पन्न सुत्ने कोठा, शौचालय र पानीको व्यवस्था छ ।

यस वर्ष हिउँदयाम लागेपछि आधादर्जन सङ्घसंस्थाको कार्यक्रम भुकदेउराली र लप्सीबोट होमस्टेमा सञ्चालन भएको स्थानीय होमस्टे सञ्चालिका इन्द्रकुमारी गुरुङले बताउनुभयो । भुकदेउरालीको फेदीबाट भवरकोट, जलजला र हम्पालका लेकको पैदलयात्रामा जान सकिन्छ । घना जङ्गलका बीचमा रहेको बस्तीमा जङ्गली जनावरको अवलोकनदेखि बिहानको सूर्योदयसँगै हिमाली दृश्य अवलोकन गर्न सकिन्छ । यता चित्रे ग्रामीण पर्यटन होमस्टेमा नेपालका विभिन्न जिल्लाबाट पाहुना आउनेक्रम बढेको त्यहाँका व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताउनुभयो ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउनेक्रम कोरोनाको समयभन्दाअघिको याम जस्तै हुन थालेको उहाँले जानकारी दिनुभयो । पोखरा र काठमाडाँैबाट विभिन्न समूह कार्यक्रम गर्नका लागि आन्तरिक पर्यटक आउन थालेको अध्यक्ष गुरुङको भनाइ छ ।

“चित्रेमा मात्रै वार्षिक तीन हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्याङ्क छ । अहिले आन्तरिक मात्र नभएर बाह्य पर्यटक पनि आउनेक्रम सुरु भएको छ”, उहाँले भन्नुभयो, “घरबास विस्तारै पुरानै लयमा फर्किएको अनुभूति भएको छ ।”चित्रेको घरबासलाई व्यावसायिकभन्दा पनि सेवामुखी बनाइएको छ । समितिका अनुसार चित्रेको घरबासमा एकपटकमा ७० देखि ८० जनासम्म राख्नसक्ने क्षमता छ । अहिले धेरै घरमा कोठा थप्ने र सबै एट्याच रुम बनाउनेक्रम चलेको छ । धेरै घरमा सुधार गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ यहाँ रहेकाले पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकको सङ्ख्या धेरै छ । होमस्टे पुग्नासाथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाका रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेलरोटी, गुन्द्रुक र भटमासको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चट्नी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ । यहाँको घरबासका आकर्षणमा प्राङ्गारिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका सल्लाहकार मधुसुदन अधिकारीले बताउनुभयो ।

उता जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीमा रहेको लामतुन ग्रामीण पर्यटन होमस्टेमासमेत पर्यटकको उत्तिकै भिडभाड रहेको छ । गाउँमा चिटिक्क पारेर सजाइएका घरमा होमस्टे सञ्चालन, लोक संस्कृति र प्रकृति दुवै देख्न पाइने हुनाले आन्तरिक पर्यटक बढ्न थालेका हुन् । शान्त वातावरणमा गाउँको परिवेशमा रमाउने र स्थानीय रहसनसहन र संस्कृतिमा चासो राख्नेको रोजाइ लाम्तुन होमस्टे बन्न पुगेको हो ।

विसं २०७५ मा स्थापना भएको यस घरबासमा पर्वतलगायत अन्य जिल्लाबाट पाहुना आउने गरेका होमस्टेकी सचिव मनमाया गुरुङले जानकारी दिनुभयो । घरबासमा आउने पाहुनालाई स्थानीय उत्पादनका कोदो, चामलको रोटी, मकै, भटमास तथा अन्य परिकारका साथै लोकल कुखुरा स्थानीयस्तरमा बनेका खानाका परिकारले स्वागत गर्ने गरेको उहाँले बताउनुभयो ।घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेपछि व्यवसायी हर्षित भएका छन् । वर्षायाममा सुनसान जस्तै हुने घरबास हिउँदयाम लागेपछि व्यस्त बनेका मात्र छैनन्, पर्याप्त आम्दानी हुने गरेको मोदी–८ वडाध्यक्ष शुकबहादुर गुरुङले जानकारी दिनुभयो ।

जिल्लाको कुश्मा नगरपालिका–३ को दुर्लुङ, वडा नं १४ को आर्थर, फलेबास नगरपालिका वडा नं २ को थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, बनौँ, महाशीला गाउँपालिकाको भोक्सिङ, विहादी गाउँपालिकाको गेप्ताङ र बाच्छा सामुदायिक होमस्टे तथा पैँयु गाउँपालिकाको चिन्नेखर्कलगायत स्थानका घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको त्यहाँका सञ्चालकहरुले बताए ।  लक्ष्मीप्रसाद सापकोटा/रासस