२०८३ जेठ १३ , बुधवार

एन आर एन एद्वारा मधेश प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण

Capture

सुनाखरी न्युज / काठमाडौं ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए,आइसीसी) ले मधेश प्रदेशमा मोबाई ब्लड बस हस्तान्तरण गरेको छ।विहिवार जनकपुरमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले नेपाल रेडक्रस सोसाइटी धनुषालाई ब्लड बस हस्तान्तरण गरेको हो।

अध्यक्ष केसीले बस हस्तान्तरण गर्दै स्थानीय निकाय बीच समन्वय गरेर बस संचालन गर्न आग्रह गर्नुभयो।उहाँले मोबाइल ब्लड बसको सानो सहयोगले मानिसहरुको ज्यान जोगाउन ठूलो सहयोग हुने विश्वास गर्नुभयो। विदेशमा सिकेको ज्ञान सिप र पुँजीलाई नेपालमा ल्याउन र नेपालको विकासको लागि लाग्ने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै,कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघको मधेश प्रदेशसंग आत्मिय सम्बन्ध रहेको बताउनुभयो। संघको अभियानमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायत मधेश प्रदेशबाट विश्वका विभिन्न देशमा पुगेका नेपालीहरुको संस्थामा ठूलो योगदान रहेको उहाँको भनाइ थियो।संघको परोपकार विभागका संयोजक समेत रहेका डा. शर्माले विगत दुई दशकमा संस्थागत रुपमा नेपालमा १ अर्ब बराबरको परोपकारी काम सम्पन्न भैसकेको बताउनुभयो।

कार्यक्रममा संघकी उपाध्यक्ष रोजिना प्रधान, सहायक प्रमुख जिल्ला अधिकारी नरेश प्रसाद सिहं, प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियो।
मधेश प्रदेशका स्वास्थ्य मन्त्री विरेन्द्र सिहं र नगर प्रमुख मनोज कुमार शाहको समेत कार्यक्रममा उपस्थिती थियो । मन्त्री सिंहले संघले प्रदान गरेको मोबाइल ब्लड बस सहयोगको लागि धन्यवाद दिनुभयो।

कार्यक्रममा गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष रोशन थापा, सचिव पारस मणी पोखरेल, सल्लाहकारहरु टिवि कार्की अतुल कोइराला, विधान संशोधन सुझाव समितिका संयोजक भवानी प्रसाद ओली, पूर्व यूरोप संयोजक सन्तोष भट्टराई, संघका प्रमुखकार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति थियो।