२०८१ बैशाख २४ , सोमवार

प्रधानमन्त्री कप क्रिकेट : मधेस प्रदेशसँग एपिएफ स्तब्ध

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गरेको छ ।

जितका लागि दुई सय ४७ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले ४८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले एपिएफलाई पहिलोपटक पराजित गरेको हो । मधेसको जितमा रुपेश सिंहले ७२ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अविजित ७२ रन बनाए । पवन सर्राफले ६४ रन बनाए भने निरज यादवले ७० बलमा ५२ रनको योगदान दिए । साथै अनिल शाहले २९ रन बनाए भने अभिशेख तिवारीले १७ रन बनाए ।

एपिएफका लागि अमर रौतेला र रोहित पौडलले समान दुई–दुई विकेट लिए भने मौसम ढकालले एक विकेट झारे ।

ञ कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल बनाएको थियो । एपिएफका लागि आशिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिएका थिए ।

कप्तान रोहित पौडेलले ७४ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५८ रन जोडे भने अमर रौतेलाले ५७ बल खेल्दै दुई चौका र तीन छक्काको मद्दतमा ४९ रन बनाए । त्यस्तै सन्दीप जोराले २०, सुमित महर्जनले नौ, भुवन कार्कीले आठ तथा लोकेश बमले छ रन जोडे । मधेस प्रदेशका रुपेश सिंह र प्रदीप पासवानले समान तीन–तीन विकेट लिए ।  रासस