२०८१ बैशाख २६ , बुधवार

सशस्त्र प्रहरीको प्रस्तावित ऐनः के के हुँदैछ परिमार्जन ?

Sasastra

सुनाखरी न्युज/ काठमाडौं ।

सशस्त्र प्रहरी बलले आफ्नो सेवासम्बन्धी नयाँ ऐन ल्याउनका लागि गृहकार्य थालेको छ । गृह मन्त्रालयमार्फत यसका लागि  मन्त्रिपरिषद्मा सैद्धान्तिक सहमतिका लागि प्रस्ताव पठाउने तयारी छ ।

सशस्त्र प्रहरी बल उच्च स्रोतका अनुसार, ऐनमार्फत सशस्त्र प्रहरी बलका विभिन्न दर्जाका पदावधिमा हेरफेर गर्ने प्रस्ताव अघि बढाउन लागिएको छ । त्यसको मस्यौदा समेत सशस्त्र प्रहरीले तयार गरेर पठाएको छ ।

 

स्रोतका अनुसार, सशस्त्र प्रहरी बलका वर्तमान महानिरीक्षक राजु अर्यालले संगठन प्रमुखको पदावधिलाई चार वर्षबाट हटाएर तीन वर्ष बनाउने तयारी गरेका छन् ।

‘चिफ सा’बले आफ्नै पदावधिलाई एक वर्ष घटाएर तीन वर्ष कायम गर्ने गरी गृहकार्य थाल्नुभएको छ’, सशस्त्र प्रहरीका एक उच्च अधिकृतले भने, ‘उहाँले डीआईजी हुँदादेखि नै आफू प्रमुख भए नेतृत्व अवधिलाई एक वर्ष घटाउने बताउँदै आउनु भएको थियो ।’

 

सशस्त्र प्रहरी बलको प्रस्ताव अनुसार, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदावधि पनि तीन वर्ष बनाउन प्रस्ताव गरिएको छ । हाल सशस्त्र प्रहरीमा एआईजीको पाँच वर्ष पदावधि छ । सशस्त्र प्रहरीमा डीआईजीका लागि ४ जोड १ ९१ वर्ष पदावधि थप हुनसक्ने० प्रावधान छ ।

तर, एक वर्ष पदावधि थप गर्नुपर्ने प्रस्ताव समेत हटाउने प्रस्ताव सशस्त्र प्रहरी बलको छ । एक वर्ष पदावधि थप नहुँदा भावी महानिरीक्षकका रुपमा हेरिएका प्रविण श्रेष्ठ डीआईजीबाट घर गएका थिए । त्यसपछि हालका महानिरीक्षक अर्याललाई संगठन प्रमुख बन्ने बाटो खुलेको थियो ।