२०८१ जेठ ५ , शनिवार

जापानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना वेपत्ता

earthquake-seismograph-line (1)

सुनाखरी न्युज/ काठमाडौं ।
जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा वाजिमा शहरले थप १० जनाको ज्यान गएको जनाएको छ । वाजिमा शहर नोटो प्रायद्वीपमा गएको भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो ।

स्थानीय अधिकारीहरूले भूकम्पपछि तत्काल भएको आगलागीमा व्यापक क्षति बेहोरेको लोकप्रिय पर्यटकीय स्थल वाजिमाको बिहानी बजारको छेउछाउमा मृतकहरू फेला परेको बताएका छन् ।उक्त क्षेत्रमा गत हप्तादेखि नै व्यापक खोजी र उद्धार कार्य भइरहेको थियो ।

भूकम्पमा परी वाजिमा शहरमा १७ र सुजु सहरमा चार जना गरी कूल २१ जना अझै वेपत्ता रहेका छन् ।
स्थानीय सञ्चारमाध्यमले उपलब्ध गराएका विवरण अनुसार क्षति भएका घर तथा आवासहरूको सङ्ख्या २२ हजार ३७४ रहेको पुष्टि भएको छ । थप मूल्याङ्कनहरू गर्दा प्रभावित भवनहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन सक्ने बताइएको छ ।

वाजिमा र सुजुका सहरहरूमा, क्षतिको परिमाण अझै धेरै पुष्टि भएको छ । वास्तविक अवस्था अझै पनि अस्पष्ट रहेको जापानको राष्ट्रिय समाचार संस्था (क्योदो)ले जनाएको छ ।  रासस/ सिन्ह्वा