२०८१ जेठ ५ , शनिवार

नाउपाले रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउन विधान संशोधन गर्ने, महासचिवमा दुई जनालाई सर्वसम्मत घोषणा 

Screenshot 2024-01-13 135334

धनगढी ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले निर्वतमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने भएको छ ।

टीकापुरमा जारी प्रथम केन्द्रीय अधिवेशनबाट पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएपछि उनकी पत्नी रञ्जिताका लागि विधान संशोधन गरी सहअध्यक्ष रहने व्यवस्था गर्ने तयारी गरेको हो ।

 

नाउपाका नवनिर्वाचित महासचिव गंगाराम थारूले निर्वतमान अध्यक्षलाई व्यवस्थापन गर्न विधान संशोधन गरेर सहअध्यक्षको व्यवस्था गर्न लागेको बताए । रेशम चौधरी नाउपाको अध्यक्षमा सर्वसम्मत चयन भएपछि रञ्जिता श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको नेताहरुले बताएका छन् ।

पत्नीको असन्तुष्टि मात्र नभएर भविष्यमा आउनसक्ने कानुनी जटिलतालाई समेत ध्यानमा राखेर रेशमले पार्टीको विधान संशोधन गर्न लागेको एक नेताले बताए ।

रञ्जिताले अध्यक्षमा दोहोरिने इच्छा राखे पनि रेशम चौधरीले मनोनयन दर्ता गरेपछि उनी महाधिवेशन स्थल छाडेर हिँडेकी थिइन् ।
सहमति नभएपछि नाउपाले २ जनालाई महासचिव घोषणा गर्‍यो

 

महाधिवेशनले पार्टीको विधान संशोधन गरेर दुई जना महासचिव राख्ने व्यवस्था गर्ने सहमति गर्दै महासचिवमा कैलालीका गंगाराम थारु र लुम्बिनीका धर्मबहादुर चौधरीलाई निर्वाचित भएको घोषणा गरिएको छ ।

 

उपाध्यक्षमा सर्वसम्मत भएका रतन थापाले विधान संशोधन गर्नेगरी दुवै जनालाई महासचिवमा सर्वसम्मत चयन गरिएको जानकारी दिए ।

 

योसँगै अध्यक्षसहितका २७ जना पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिले उनीहरुलाई शुक्रबार राति प्रमाणपत्र वितरण गरिसकेको छ ।

उपाध्यक्षमा अन्य ५ प्रदेशमा सर्वसम्मत निर्वाचित भएपनि बागमति र लुम्बिनी प्रदेशमा सहमति हुन नसक्दा महाधिवेशन लम्बिएको छ । दुवै प्रदेशमा सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन् ।