२०८१ बैशाख २४ , सोमवार

युट्युबरलाई आचार संहिता सिकाउँदै प्रेस काउन्सिल

press-council

सुनाखरी न्युज/ काठमाडौं।

युट्युब व्यवस्थापनका लागि प्रेस काउन्सिल नेपालले  आचारसंहिता अभिमुखीकरण कक्षा सुरु गरेको छ । सञ्चारग्राममा बिहीबार  विभिन्न युट्युब माध्यमका सञ्चालक तथा सम्पादकलाई बोलाएर काउन्सिलले अन्तर्क्रियात्मक अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा युट्युब सञ्चालकहरूले आफूहरूलाई गलत रूपमा सम्बोधन गर्दै युट्युबमार्फत सामग्री सम्प्रेषण गर्न हतोत्साही गरिने गरेको अनुभव सुनाए । उनीहरूले डिजिटल माध्यममार्फत सूचना सम्प्रेषण कार्यमा सहयोग नभएको गुनासो गरेका थिए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत आचारसंहिता पालना गर्दै पत्रकारिता गर्ने हो भने सञ्चारका सबै क्षेत्रबाट साथ सहयोग हुने बताए ।

बस्नेतले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने व्यवस्थित हुन र पत्रकार आचारसंहिता पालना गर्न अनिवार्य भएको भनाइ राखे ।

 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाजले नयाँ कुरालाई सहजै स्वीकार्न नसक्ने भन्दै हिजो पत्रपत्रिका, रेडियो र अनलाइनले भोगेको समस्या अहिले युट्युब सञ्चालकले भोगेको बताए । उनले सम्पादन बिनाको सामग्री सञ्चार सामग्री नहुने भन्दै युट्युबरलाई सिकाएर प्रोत्साहन गर्न आवश्यक रहेको भनाइ राखे ।

यस्तै काउन्सिलका सदस्य ठाकुर बेलबासेले ‘आचारसंहिताअन्तर्गतका निर्देशिकाहरू’, सहप्रशासकीय अधिकृत रामशरण बोहराले ‘युट्युब सामग्रीको प्रवृत्ति र व्यवस्थापनमा काउन्सिलको पहलकदमी’ तथा अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले ‘युट्युबको अवस्था र आगामी पहलकदमी’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।