२०८३ जेठ १४ , बिहिवार

‘युद्धले खुट्टा गुम्यो, चाहनाले सीप सिकायो’

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।
कात्तिकको महिना, गाउँमा कामको चाप (माचो) थियो । खेतमा पाकेको पहेँलपुर धान भित्र्याउन गाउँलेलाई भ्याइनभ्याइ थियो । गुल्मीबाट कामको खोजीमा बागलुङको ग्वालीचौर झर्नुभएका भीमबहादुर विक ‘तानातान’मा हुनुहुन्थ्यो । उहाँलाई काखमा एक महिनाको छोरा च्यापेर बसेकी सुत्केरीको दानापानी जुटाउनु थियो । विसं २०५९ कात्तिक २५ गते विक बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरको दारेगौँडामा दाइँमा खेताला बन्नुभयोे ।

सुत्केरीलाई साँझ बिहानका लागि खाना लिएर फर्किने वाचासहित बिहान घरबाट निस्कनुभएका भीमबहादुरको जीवनमा एकाएक अँध्यारो छायो । जनयुद्ध चरम उत्कर्षमा पुगेका बेला थियो । ग्वालीचौरको दारेगौँडामा गस्तीमा रहेको नेपाली सेनामाथि विद्रोही पक्षले विद्युतीय धराप आक्रमण ग¥यो । स्थानीय दाईका दाइँका गोरु थपाइरहनुभएका भीमबहादुरले एकैपटक जमिन थर्किनेगरी ठूलो आवाज सुन्नुभयो । आवाजको गति मथ्थर नहुँदै उहाँको बायाँ खुट्टाको घुँडामाथि गोली लाग्यो । खुट्टाको मूल नसा नै चुँड्यो । क्षणभरमै खेतमा काम गरिरहनुभएका भीमबहादुर दाई भएकै ठाउँमा पल्टिनुभयो ।

घटनामा दुई जना नेपाली सेनाका जवान मारिए । धराप पड्केर आफ्ना जवानको मृत्यु भएपछि सेनाले अन्धाधुन्ध गोली चलायो । “आँखै अघि धेरै जना ढले । कोही म जस्तै घाइते भए । कसैले संसारै छोडे”, विकले भन्नुभयो, “मेरो त सर्वस्व सकियो । झण्डै छोराछोरी टुहुरा भएका थिए । घटनामा ११ जना सर्वसाधारण मारिए । बाँकी छ जना घाइते भएका थिए ।”

घाइतेमध्ये खिमबहादुर जिसीको २०६० सालमा उपचारकै क्रममा मृत्यु भएको नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक राजीव घिमिरेले बताउनुभयो । उहाँका अनुसार भीमबहादुर, खुसीराम विकलगायतका घाइते अहिले पनि दुःखजिलो गरेर जीवन बिताइरहनुभएको छ ।

“कपडाको टालो बाँधेर एक महिना गोली भएकै अवस्थामा जसोतसो चलेँ । गोली खुट्टामै थियो । ऊबेला कसले उपचार गरिदिने ? खर्च पनि त थिएन”, भीमबहादुरले ती दिन सम्झँदै भन्नुभयो, “एक महिनापछि उपचार त भयो तर नसो सोझिएन ।” गण्डकी अस्पताल पोखरामा सामान्य उपचारपछि घर फर्किएका भीमबहादुरको अहिले पनि देब्रे खुट्टा चल्दैन । वैशाखीको भरमा हिड्नुहुन्छ ।

तीन छोरी र दुई छोराका बाउ नै अशक्त भएपछि परिवार पाल्ने जिम्मेवारी आमा सुमित्राको काँधमा आइप¥यो । निमेक नै गरेर उहाँले छाक टार्नुभयो । कहिले ससाना छोराछोरी बोकेरै मेलामा पुग्ने त कहिले एक्लै मेलापात गरेर घर खर्च चलाएको सुमित्राले सुनाउनुभयो । घटना भएको २१ वर्ष बित्यो । युद्धरत माओवादी र सरकारबीच शान्ति सम्झौता भयो । सम्झौतापछि भीमबहादुरले पनि एकपटक सरकारबाट रू एक लाख राहत प्राप्त गर्नुभयो ।

“गाउँकै एक जना सरले कागज बनाउनेदेखि सबै काम गरिदिनुभयो । बजार जाँदा–आउँदा खर्च दिनुभयो”, विकले सम्झिनुभयो, “३० हजार खर्च भएको रहेछ । ७० हजार हात लाग्याथ्यो । अरु केही पाएको छैन ।” भीमबहादुरले आफू भूमिहीन भएको बताउनुभयो । “बडिगाड–५ मा रहेको अहिले घर पनि सार्वजनिक जग्गामा छ । तीन जना छोरीको बिहे भयो । घाइते हुनेबेला एक महिनाका विष्णु विक अहिले २१ वर्षका हुनुभयो । परिवारका दुःख भने अझै हरिएका छैनन्”, उहाँले भन्नुभयो ।

“जेठोले भारतमा सामान्य काम गरेर आफ्नो खर्च चलाउँदै छ । कान्छो घरमै छ, निमेक पाहुर गर्नेबाहेक हाम्रो आम्दानी केही छैन”, सुमित्राले भन्नुभयो, “हाम्रा लागि त भगवान् पनि बैरी बनेर आयो, घर धान्ने मुलीलाई नै उमेर छँदै ढलायो ।”

भीमबहादुरले वैशाखीकै सहारामा धेरै काम गर्ने प्रयास गर्नुभयो । कहिले चोयाका सामग्री बनाउने त कहिले बसेरै गर्न सकिने कामको खोजी गर्नुभयो । उहाँले कामबाट कहिल्यै जस नपाएको बताउनुभयो । कुनै ठूलो सहयोगको आशा नगरेको बताउँदै उहाँले जीवन गुजार्ने सीप खोजिरहेको भन्नुभयो ।

थोरै लगानी र मेहनतले प्रशस्त आम्दानीको स्रोत खोजिरहेका भीमबहादुर आजभोलि च्याउखेती गर्न थाल्नुभएको छ । ग्रामीण स्वास्थ्य सुधार परियोजना (बिवाइसी) भन्ने सामाजिक संस्थाले उहाँलाई च्याउखेतीको तालिम दिएको थियो । घरछेउमै सानो घर निर्माण गरेर च्याउ खेती थाल्नुभएका भीमबहादुरले बाँच्ने आधार खेती बनाउने चाहना राख्नुभयो । “सजिलो काम भएकाले मैले धेरै गर्नसक्ने तर न त जग्गा छ, न त पुँजी”, उहाँले भन्नुभयो, “कसैको साथ÷सहयोग पाए सामान्य खर्च चलाउने काम गर्न सक्थेँ ।”

स्थानीय बजारमा च्याउको खपत हुने भएकाले आशा पलाएको भीमबहादुरको भनाइ थियो । तालिममार्फत च्याउ खेती सिकेकाले आर्थिक सहयोग पाएमा व्यवसायिक रुपमा यहीँ खेती गर्ने योजना रहेको उहाँले बताउनुभयो ।  रासस