सुनाखरी न्युज/ काठमाडौं ।
हुथी विद्रोहीको निशानामा अमेरिका र बेलायतले गरेको आक्रमणपछि चीनले यमन द्वन्द्वलाई विस्तार हुन नदिन सबै पक्षसँग आह्वान गरेको छ ।
इरान समर्थित हुथी सेनाले हमासप्रति ऐक्यवद्धता जनाउँदै ‘रेड सी’को पानीजहाजमा हप्तौँदेखि गरेको विध्वंसकारी आक्रमणपछि शुक्रबार बिहान अमेरिका र बेलायतले विद्रोहीको कब्जामा रहेको यमनमा हवाई आक्रमण गरेका थिए ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो, “चीन ‘रेड सी’मा बढ्दो तनावप्रति चिन्तित छ ।
उहाँले भन्नुभयो, “द्वन्द्व फैलन नदिन हामी सम्बन्धित पक्षलाई शान्त रहन र संयमित हुन आग्रह गर्दछौँ ।”अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणपछि गाजामा युद्ध भड्किएपछि हुथी विद्रोहीले मुख्य अन्तर्राष्ट्रिय व्यापार मार्गमा रहेका इजरायलसँग सम्बन्धित पानीजहाजमा आक्रमणको सङ्ख्या बढाउँदै लगेको छ ।
बेइजिङले भनेको छ, “‘रेड सी’ क्षेत्र अन्तर्राष्ट्रिय रसद र ऊर्जा व्यापारका लागि महत्वपूर्ण मार्ग हो’ भन्ने कुरामा कुनै दुविधा छैन र अन्तर्राष्ट्रिय समुदायको साझा हितअनुरूप ‘रेड सी’को क्षेत्रीय सुरक्षा र स्थिरताको रक्षा गर्न रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक छ ।”
माओले भन्नुभयो, “सम्बन्धित पक्षहरूले अन्तर्राष्ट्रिय समुदायको साझा हितअनुरूप ‘रेड सी’ को क्षेत्रीय सुरक्षा र स्थिरताको रक्षा गर्न रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न सक्दछन् ।”उहाँले भन्नुभयोे, “चीनले सबै पक्षलाई संयुक्त रूपमा अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा कायम राख्न र गैर–सैनिक जहाजलाई सताउने काम रोक्न जोगिन आग्रह गरेको छ, किनकि यो विश्वव्यापी अर्थव्यवस्था र व्यापारको लागि हानिकारक छ ।”
यमनको हुथी समूहले शुक्रबार अमेरिका र बेलायतबीच भएको हवाई आक्रमणमा आफ्ना पाँच लडाकू मारिएको र अन्य छ जना घाइते भएको जनाएको छ । विद्रोही समूहको नियन्त्रणमा रहेका क्षेत्रमा ७३ स्थानमा हवाई आक्रमण गरिएको बताइएको छ । रासस/एएफपी