२०८१ जेठ ५ , शनिवार

थारू समुदाय उत्थान विशेष कार्यक्रम सञ्चालन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
थारू समुदायलाई लक्ष्य गरी कृषि ज्ञान केन्द्रले अनुदानका विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘थारू समुदाय उत्थान विशेष कार्यक्रम’ अन्तर्गत उक्त केन्द्रले बसन्ते मकैखेती प्रवद्र्धन र बसन्ते तरकारीखेती सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।

केन्द्रका निमित्त प्रमुख गोविन्द सिजापतीका अनुसार सुदूरपश्चिम प्रदेश कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन नियमावली २०७९ अनुसार सो कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि रु २० लाख बजेट छुट्याइएको छ । राना थारू समुदायका विपन्न वर्गका लागि सय प्रतिशत र अन्यका हकमा ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइने छ ।

थारू समुदाय विपन्न वर्ग भएको प्रमाणपत्रसँगै अनुसूची ५ अनुसारको प्रस्तावसहितको निवेदन, खेती गरिने जग्गाको कागजपत्र, समूह र सहकारीको निर्णयको प्रतिलिपि पेस गर्नुपर्ने कार्यालय प्रमुख सिजापतीले बताउनुभयो ।

थारू समुदायलाई आर्थिकरुपले सबल बनाउनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो । सो कार्यक्रमअन्र्तगत बसन्ते मकै र तरकारीको बीउ, मलखाद, कृषि औजार, यन्त्र, सिँचाइ र अन्य प्रविधिलगायत पनि अनुदान रकम खर्च गरिनेछ ।

प्राविधिक कर्मचारीले स्थलगत अनुगमन गरेपछि पेस गरिएको प्रतिवेदनका आधारमा अनुदान रकम उपलब्ध गराइने बताइएको छ ।  रासस